सगरमाथाकी छात्रा मृत्यु प्रकरण : पीडित परिवारलाई पैसा लिएर मिलिहाल्न दिइँदैछ धम्की

जनकपुरधाम । मिर्चैयास्थित सगरमाथा उमाविमा अध्ययन गरिरहेकी सिरहा नगरपालिका ११ भलुवाहीकी १५ वर्षीया छात्रा सिर्जना कुमारी महराको गत २३ गते साँझ विद्यालयको लापरबाहीका कारण मृत्यु भयो । गत २२ गते विद्यालयमा उनले औषधी खान पानी मागेपछि शिक्षिकाले झुक्किएर उनलाई स्पिरिट दिएकी थिइन् । लगत्तै उनी झन् अस्वस्थ भइन् ।

स्पिरिट खाएर बेहोस जस्तो भएकी उनलाई विद्यालयले अस्पताल नपुर्‍याएर घर पुर्‍याएको थियो । घरमा बिस्तारै उनी केही बुझ्नै नसक्ने गरी बेहोस भएपछि परिवारजनले उनलाई अस्पताल लग्यो । अस्पतालमा उपचारकै क्रममा सिर्जना दम तोडिन् । विद्यालयको चरम लापरबाहीका कारण ज्यान गुमाएकी सिर्जनाको न्यायको लागि मिर्चैयामा आइतबार दिनभर आन्दोलन भयो ।

प्रहरीले विद्यालय सञ्चालक प्रदीप तिवारी, स्पिरिट दिएकी भनिएकी शिक्षिका अम्बिका लम्सालसहित पाँच जनामाथि मुद्दा चलाएपछि मात्रै आन्दोलन साम्य भयो । प्रहरीले उनीहरूमाथि ज्यान मार्ने कसुरमा मुद्दा चलाएको छ । जसमध्ये सञ्चालक तिवारी र शिक्षिका लम्साललाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

तर, प्रहरीले मुद्दा चलाएपनि मृतक परिवार भने न्याय नपाउने हो कि भन्ने त्रासमा छन् । कारण हो- मृतक परिवारमाथि विभिन्न तवरबाट बनाइएको दबाब । विद्यालयको तर्फबाट विभिन्न व्यक्ति मृतकको घरमा पुगिरहेका छन् । सोमबार बिहानै मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादव मृतकको घर पुगे । यस्तै अन्य मान्छेहरू पनि निरन्तर उनको घर पुग्ने क्रम जारी छ ।

उनीहरूले पैसा लिएर मिलिहाल्न दबाब मृतक परिवारलाई दिइरहेका छन् । ‘पैसा लिएर केस सेटल गर्न हामीलाई दबाब आइरहेको छ,’ मृतकका बुवा धर्मेन्द्र महराले भने, ‘तर, हामीलाई न्याय चाहिएको छ ।’ यस्तो शोकको बेला दबाब दिन घरमा नआउन भन्दा मेयरले धम्की दिएको मृतकका मामा रञ्जित महराको आरोप छ । ‘अहिले घरमा सबै चिन्तामा छन्, तपाईँहरू घरमा आएर दबाब जसरी दिएर झन् पीडा दिने काम नगर्नुस् भनेर मेयरलाई भन्दा उहाँले तिमी जस्तो ५० वटा गुण्डा मैले पालेको छु, कपाल नोचिहाल्छु भनेर धम्की दिनुभयो,’ उनले भने ।

जनप्रतिनिधिले यस्तो बेला झन् पीडितको न्यायका लागि लड्दिनुपर्नेमा मानसिक यातना दिने काम गरेको स्थानीयको गुनासो छ । उनीहरूले सरकारसँग मृतक परिवारलाई सुरक्षा दिन र मृतकलाई न्याय दिन अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *