गण्डकीमा माओवादीको ‘बार्गेनिङ’ बढ्यो

पोखरा । मुख्यमन्त्रीको दाबी गरिरहेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अन्ततः मन्त्री मात्रै बनेर सरकारमा सामेल भएका छन् । सोमबार मुख्यमन्त्री अधिकारीले ३ मन्त्री नियुक्त गर्दा चुमानले माओवादीको नेतृत्व गर्दै सरकार प्रवेश गरेका हुन् ।

पहिलो इनिङमा मुख्यमन्त्री दाबी गर्ने चुमानलाई अन्ततः पाँचै वर्ष मुख्यमन्त्री बन्ने बाटो बन्द भएको छ । सत्ता गठबन्धनको शीर्ष नेतृत्वले गण्डकीमा पाँचै वर्ष एमालेको नेतृत्व रहने निर्णय गरेको हो । ‘प्रदेश बुझेको मान्छे सरकारमा हुनुपर्छ । पहिले पनि मन्त्री भएर काम गरिसकेको अनुभव छ,’ चुमानले भने, ‘प्रदेशको समृद्धिका लागि पार्टीको निर्णय अनुसार सरकारमा सामेल भएँ । सरकारमा माओवादीको नेतृत्व मैले नै गर्नुपर्ने अवस्था आयो ।’

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको समेत मत पाएपछि भने गण्डकीमा माओवादी हौसिएको छ । ‘माओवादीको यहाँ बार्गेनिङ पावर बढेको छ । कांग्रेसले केन्द्रमा प्रधानमन्त्रीको समर्थन गरेका कारण माओवादीले एमालेसँग मन्त्रालयको बराबर हिस्सा खोजेको छ,’ एक नेताले भने, ‘९ वटा मन्त्रालय हुँदा यहाँ एमाले र माओवादीको समान ४/४ मन्त्रालय हुनुपर्ने अडान लिएको छ ।’

डा. बाबुराम भट्टराईको पार्टीका नेता भएपनि माओवादीकै चुनाव चिन्हबाट विजयी भएका फडिन्द्र देवकोटालाई ‘सेटल’ गराउनुपर्ने बाध्यता सत्ता गठबन्धनलाई छ । त्यसैले पनि माओवादीले देवकोटा सहित ४ मन्त्रालय माग गरेको बताइएको छ । यहाँ माओवादीको ८ सीट छ भने एमालेको २२ सीट छ ।

सत्ताभित्रैको दल राप्रपासँग २ सीट छ । चुमान सहित एमालेकी सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले सोमबार नै विना विभागीय मन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रीहरूको कार्य जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।

तर माओवादीले मन्त्रालयको सङ्ख्या र जिम्मेवारी भने विश्वासको मत अघि नै निक्र्यौल हुनुपर्ने बताएको छ । ‘बैठक बसिरहेको छ । आन्तरिक रूपमा पहिले नै टुंगिन्छ,’ चुमानले भने, ‘विश्वासको मत पछि विभाजन र विस्तार अघि बढ्छ ।’ सत्ता समीकरण मिलाउन नेताहरूले कम्तीमा १० मन्त्रालय आवश्यक पर्ने सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *