गोरखा पुगेर प्रचण्डले भने– पृथ्वी जयन्तीमा बिदा दिएर महत्त्वपूर्ण काम गरेँ

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अर्थपूर्ण सन्देश दिएको बताएका छन् । गोरखा महोत्सव उद्घाटन गर्न गोरखा पुगेका उनले पृथ्वी जयन्तीमा बिदा दिएर गोरखालीलाई सम्मान गरेको बताए ।

‘हामीले पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गर्‍यौँ,’ उनले भने, ‘यो निर्णय निकै अर्थपूर्ण छ, यसले नेपालको र विशेष गरी गोरखाको सम्मान भएको छ । यसको दूरगामी महत्त्व छ ।’

प्रधानमन्त्री बनेपछि पहिलो पटक गोरखा पुगेका उनले जिल्लाको विकास निर्माणमा आफ्नो प्रतिबद्धता कायम रहेको बताए ।

‘मैले चुनावका समयमा जति पनि विकासका प्रतिबद्धता गरेको छु त्यो पूरा गर्न तत्पर छु,’ उनले अघि भने, ‘सडक सञ्जाल विस्तार, बुढीगण्डकी आयोजना निर्माण गर्ने तथा पालुङटार हवाई अड्डा स्तरोन्नति सहित सञ्चालन गर्ने प्रतिबद्धता पूरा गर्न तत्पर छु ।’

गोरखाले प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री पाउनु निकै ठुलो अवसर भएको प्रचण्डको भनाइ छ ।

‘म प्रधानमन्त्री बनेको छु,’ उनले भने, ‘नारायणकाजीजी भौतिक पूर्वाधार मन्त्री बन्नु भएको छ । यो बिरलै पाउने अवसर हो । प्रदेशमा पनि गोरखाबाट मन्त्री बन्ने अवसर छ । यो दुर्लभ पाइने अवसर हो ।’

प्रचण्डले आफू राष्ट्रिय सहमतिको प्रधानमन्त्री भएकोले गोरखाका लागि यो महत्त्वपूर्ण र खुसीको अवसर भएको तर्क गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *