शहिद लखनमा घरेलु रक्सी बनाउन वडाको अनुमति लिनुपर्ने

पोखरा । गोरखाको शहिद लखन गाउँपालिकामा घरेलु मदिरा उत्पादन गर्न वडाको अनुमति लिनुपर्ने भएको छ । गाउँपालिकाले मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमन सम्बन्धी ऐन पारित गर्दै वडाको अनुमति विना रक्सी उत्पादन गर्न नपाइने नियम बनाएको हो ।

वडास्तरीय मदिरा व्यवस्थापन समिति गठन हुने र सोही समितिबाट अनुमति लिएर मात्र तोकिएको प्रयोजनका लागि रक्सी उत्पादन गर्न पाउने व्यवस्था गरिएको छ । उक्त ऐन १२ औँ गाउँ सभाले पारित गरेको छ । विधेयकमा मदिरा उत्पादनसँगै उपभोग पनि अनुमति पनि लिनुपर्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकामा विभिन्न समुदायको बसोबास रहेको र सामाजिक संस्कारभित्र मदिरा उत्पादनलाई परम्परागत रूपमा हेरेर व्यवस्थित गर्न खोजिएको पालिका अध्यक्ष रमेश थापाले जानकारी दिए । ‘कसैलाई उत्पादन नगर भन्न सकिएन । धेरैको संस्कार र संस्कृतिसँग जोडिएको कुरा छ,’ उनले भने, ‘पालिकाले व्यवस्थित गरिदिनुपर्छ भनेर ऐन बनाएका हौँ ।’

यस्तै, वडाले जुन प्रयोजनका लागि भनेको छ, सोही प्रयोजनमा मात्रै रक्सी उपभोग गर्न पाइन्छ । प्रयोजन भन्दा बाहिर प्रयोग गरेमा उत्पादन, बिक्री, ओसारपसार र सेवन गर्नेलाई समेत कारबाहीको व्यवस्था गरिएको थापाले बताए । घरेलु रक्सी बेचबिखन गर्नेलाई पहिलोपटक २ हजार रुपैयाँ र त्यसपछि पनि अटेर गरे प्रत्येक पटक १ हजारका दरले जरिवाना बढ्दै जाने प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए ।

मदिरा सेवन गरी होहल्ला गर्ने, सार्वजनिक स्थलमा शान्ति भंग गर्ने, गाली बेइज्जती गर्ने व्यक्तिलाई पहिलोपटक ३ हजार रुपैयाँ र दोहोरिएमा प्रत्येक पटकको एक हजार रुपैयाँको दरले जरिवाना बढ्ने छ । सार्वजनिक पदधारण गरेका व्यक्तिको हकमा पहिलोपटकमै ४ हजार जरिवाना छ । उनीहरूले रक्सी पिए उजुरी समेत लाग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *