फेवातालमा सीमा स्तम्भ गाड्न महानगरलाई नागरिक समाजको आग्रह

पोखरा । पोखराका नागरिक अगुवाहरूले फेवातालमा सीमा स्तम्भ तत्कालै गाड्न पोखरा महानगरलाई आग्रह गरेको छ । राजपत्रमा उल्लेख भएबमोजिम फेवातालको चारकिल्ला निर्धारण हुने गरी सीमा स्तम्भ स्थापित गर्न उनीहरूको माग छ ।

तालमा समाहित हुने फिर्के, बुलौंदी खोलाको साँधसिमा मेटिने गरी व्यापक रूपमा भइरहेको अतिक्रमण रोक्न तथा २०३२ सालमा भएको नापी बमोजिम उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि माग गरिएको छ ।

२ वर्षअघि तालको सीमा निर्धारण गर्न समिति बनेपछि उक्त समितिले चार किल्ला तोकिदिएको छ । तर सीमा स्तम्भ भने राखिएको छैन । प्रदेश सरकारले स्तम्भ राख्न बजेट नै बनाएपनि कार्यान्वयन भएन । अहिले फेवातालको आकार ५.७२६ वर्ग किलोमिटर कायम भएको छ । तालभित्र व्यक्तिको नाममा समेत रहेकोले केही जग्गा दूषित भएको भन्दै तालको नाममा कायम गर्न छानबिन समितिले सुझाएको छ । उनीहरूले फेवाताल देखि सुरु गर्ने गरी फिर्केखोला किनारमा पदमार्ग र ग्रिनबेल्ट तथा साइकल लेन विकास गर्न सुझाव दिए ।

नागरिक सरोकारका विविध विषय सम्बोधन गर्न माग गर्दै नागरिक समाज कास्कीले मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । पुरानो पोखरा विमानस्थललाई व्यापारिक प्रयोजनका लागि प्रयोग नगरी ‘बोटानिकल पार्क’ बनाउँदै ‘एरोनटिक्स’ प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न पनि माग गरिएको वातावरण संरक्षणका लागि महा अभियान कास्कीका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

उनीहरूले मिर्गौला पीडितका लागि निःशुल्क डायलसिस सेवाको व्यवस्था गर्न, फिर्केखोला, फेवाताल, सेती नदीलगायत पानीका श्रोतमा विसर्जन हुँदै आएको मानव मलमूत्रलगायत अन्य प्रदूषणयुक्त फोहोरमैला विसर्जनमा प्रतिबन्ध लगाउन समेत आग्रह गरेका छन् । यसअघि पोखरा महानगरले घोषणा गरेको ‘नो हर्न जोन’ अवधारणालाई र प्लास्टिक निषेधित क्षेत्र जस्ता महत्वपूर्ण विषयलाई कार्यान्वयनमा ल्याउन पनि मागपत्रमा समेटिएको पौडेलले बताए ।

पृथ्वीचोक नजिकै निर्माण गर्ने भनिएको प्रस्तावित सिटी बसपार्कलाई अत्याधुनिक, व्यवस्थित र स्तरीय डिजाइनमा जतिसक्दो चाँडै निर्माण गर्ने गरी प्राथमिकतामा राख्न पनि महानगरलाई बुझाइएको ज्ञापनपत्रमा माग गरिएको छ । सार्वजनिक यातायात प्रणालीमा आमूल परिवर्तन गर्न र यहाँको सडक सुरक्षा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित गर्न ट्राफिक लाइट तथा सिसी टिभी क्यामेरा जडान गर्न पनि माग गरिएको छ ।

पोखराको सहरी ढल प्रणालीलाई स्तरोन्नति एवं प्रशोधन गरेरमात्र नदी, खोला र तालमा समाहित गर्न पनि नागरिक समाजले माग गरेको छ । ज्ञापनपत्र बुझेपछि मेयर आचार्यले नागरिक समाजको चासोप्रति आफू सकारात्मक रहेको बताए । सक्दो छिटो सबै मागहरू सम्बोधन गर्न पहल थाल्ने उनको प्रतिक्रिया छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *