गण्डकीमा सरकार गठनको समय कम भएको भन्दै दलहरू असन्तुष्ट

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको दाबी गर्न पुस २५ गते ४ बजेसम्मको समय दिएका छन् ।

एउटा मात्रै पार्टीको बहुमत नभएका कारण दुई वा सो भन्दा बढी दलहरू मिलेर यहाँ सरकार बनाउनुपर्छ । केन्द्रीय गठबन्धन हेर्ने हो र सोही गठबन्धन रहने हो भने यहाँ एमाले, माओवादी र राप्रपाको संयुक्त सरकार बन्ने छ । तर प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय धेरै नदिएको भन्दै दलहरू असन्तुष्ट बनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिँदैछन् । जसका कारण प्रदेशमा कसरी सरकार बनाउने भन्ने छलफल केन्द्रले गर्न भ्याउँदैन । सोही समयको मौका छोपेर प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका माओवादी दलका नेता हरिबहादुर चुमानले बताए । ‘गठबन्धनका प्याकेज अझै टुंगिएको छैन । यहाँ सरकार बनाउन नै सकस हुने गरी आह्वान गरिएको छ । प्रदेश प्रमुख ज्यूले ठिक गर्नुभएन,’ उनले भने, ‘केन्द्रबाट प्याकेजमा सहमति भएपछि मात्रै यताका विषय टुंगो लाग्ने हो । हामीले सामान्य छलफल त गरेका छौँ, तर ठोस छलफल निर्देशन पछि मात्रै हुन्छ ।’

विश्वासको मत लिँदा तलमाथि हुन सक्ने शंका धेरैले गरेका छन् । प्रचण्डले विश्वासको मत नपाए सरकार तलमाथि हुन्छ । केन्द्रमा राजनीति सामान्य हलचल हुनेबित्तिकै गण्डकीको सत्ता समीकरणमा ठूलो फेरबदल आउँछ । त्यसैले गण्डकीका प्रदेश प्रमुखले छोटो समयमा सरकार गठनको आह्वान गर्नुमा दलहरूमा आशंका छ ।

नेकपा एमालेका सांसद रोशन गाहा मगरले केन्द्रको समस्या हल नहुँदासम्म प्रदेशले निकास नपाउने बताए । ‘केन्द्रको सहज परिस्थिति नभएसम्म प्रदेशलाई पनि सहज हुँदैन । जुनसुकै दलसँग पनि सहकार्य गर्ने कुरामा सबैले केन्द्रकै निर्णय मान्ने हो,’ उनले भने, ‘प्रदेशमा हुने सबैको भूमिका त्यही हो । केन्द्रले टुंगो लगाइदिए सजिलो हुन्थ्यो भनेको हो । हामी केन्द्रको निर्देशनको प्रतिक्षमा छौँ ।’ दलहरूको बिचमा संवाद गर्ने समय कम भएको भन्दै उनले समय धेरै दिनुपर्ने तर्क गरे ।

राप्रपाका संसदीय दलका नेता पञ्चराम गुरुङ पनि केन्द्रको निर्णयपछि मात्रै प्रदेशमा छलफल हुने बताउँछन् । ‘केन्द्रले जे निर्देशन दिन्छ, त्यही कार्यान्वयन हामी गर्छौँ । प्रदेशमा सामान्य कुरा भैसकेको छ । आजै साँझसम्म एक खालको टुंगो आउँछ । त्यसपछि मात्रै निर्णयमा पुग्छौँ,’ उनले भने । राप्रपा निकास दिन तयार रहेको उनको भनाई छ ।

६० सदस्यीय संसद् रहेको यहाँ बहुमतका लागि ३१ सिट चाहिन्छ । एमाले, माओवादी र राप्रपासँग ३२ सिट छ । एमालेको २२ सिट, माओवादीको ८ र राप्रपासँग २ सिट छ । गण्डकीमा सरकारको नेतृत्व एमालेले पाउने देखिएको छ । एमालेले केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीलाई दलको नेतामा सर्वसम्मत चयन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *