ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध अमृत अर्यालको आक्रोश : ‘मेरो भावनामा ठेस लगाउने काम भयो’

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा २ मत मात्र पाएका अमृत अर्यालले केन्द्रीय नेताहरुले आफुलाई अन्तर्घात गरेको बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै अर्यालले आफू संसदीय दलको नेता नहुने ४ दिन अघि नै थाहा भए पनि आफूले नेतृत्व विरुद्ध विद्रोहको प्रतीकको रूपमा उभिएको बताएका हुन् ।

‘प्रदेश सभा सदस्यहरूलाई ४ जनासम्म नेताले धम्की दिँदै आफुलाई भोट नहाल्न दबाब दिएको थाहा पाएँ, नेताहरुले दिएको दबाबको अडियो म सँग अझै सुरक्षित छ, अर्यालले भने, नेपाली कांग्रेस भित्र म जस्तै पिल्सिएर बसेकाहरूको प्रतिनिधित्व गर्दै मैले पार्टीका नेताहरू विरुद्ध उम्मेदवारी दिएर प्रतिकात्मक मसाल उठाएको हुँ ।’

नेताहरुले आफ्नो भावनामा खेल्न खोजेको आरोप लगाएका अर्यालले भावनामा ठेस लगाउने काम गरेको आरोप लगाए । पहिला उपेन्द्र यादवलाई हराएर संविधान सभाको निर्वाचनमा निर्वाचित भएको सुनाउँदै त्यही क्षेत्रबाट प्रतिनिधि सभाको सदस्यको निर्वाचनमा उठ्ने तयारी गरेकोमा गठबन्धन भित्र शिवकुमार मण्डलले टिकट पाउने भएपछि आफू प्रदेश सभा सदस्यको लागि उठ्न नचाहेपनि नेताहरुकै कारण उठेको खुलाएका छन् । ‘मलाई पार्टी भित्रका ४ नेताले मुख्यमन्त्री बनाउँछु भनेर प्रदेशसभामा उठ्न भन्नु भयो, जनताले मलाई राम्रो मत दिएर जिताउनु पनि भयो, उनले भने, अहिले आएर तिनै नेताले मेरो भावनामा ठेस लगाउने काम गर्नुभयो ।’

मुख्यमन्त्री बनाउने भन्ने ४ जनाको को को थिए उनले नाम नभने पनि कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि मुख्यमन्त्री बनाउने आश्वासन दिएको उनी बताउँछन् । संसदीय दलको नेता बन्ने बारेमा प्रदेश १ को जिम्मेवारी पाएका केन्द्रीय सदस्यको हिसाबले ज्ञानेन्द्रबहादुर कार्कीले सांसदहरूलाई प्रेसर दिएको तथा आफुलाई डिस्करेज गरेको अर्यालले आरोप लगाए । ज्ञानेन्द्रबहादुर कार्कीको विरुद्ध आक्रोशित देखिएका अर्यालले सरकारको प्रवक्ता तथा पार्टीको जिम्मेवार नेताको रूपमा काम गर्न नसकेको पनि आरोप लगाए । ज्ञानेन्द्रबहादुर कार्की कै कारण नेपाली कांग्रेसले सरकार गुमाउनु परेको पनि उनको भनाई छ।

‘सबैभन्दा ठुलो दल भएको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानको अर्को धारा अनुसार सरकार चलाउन पाइन्छ भन्दै ज्ञानेन्द्र कार्कीले मिस गाइड गरे, अर्यालले भने, सही सूचना दिनु पर्नेमा गलत सूचना दिए र त्यसैको परिणाम अहिलेको अवस्था आएको हो ।’ सरकार बनाउने अवस्थामा प्रधानमन्त्री बाहेक सबै पदमा नियुक्ति, प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्रीहरू, संवैधानिक नियुक्ति जस्ता खालका सूचना पनि कार्कीले नराखेको अर्यालको भनाई छ।

विराटनगरमा शुक्रवार भएको नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता चयनको क्रममा ३ जना उम्मेदवार बनेका थिए । त्यस मध्येका एक अमृत अर्यालले २ मत मात्र पाएपछि उनी आफ्नै नेतृत्व विरुद्ध आक्रोशित देखिएका हुन् । उनी पराजित भएपछि सबैभन्दा बढी आक्रोश ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध पोखरेका छन् । २९ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेस संसदीय दलको नेतामा झापामा उद्धव थापा १८ मतका साथ निर्वाचित भएका थिए । कार्कीले कृष्णप्रसाद सिटौला गुटका थापालाई सघाएको र आफुलाई हराएको आरोप अर्यालको छ ।

त्यस्तै कोइराला समूहका उम्मेदवार केदार कार्कीले ९ मत पाएका थिए । अर्यालले प्रदेश १ मा नेपाली कांग्रेसलाई कमजोर पार्ने काम कार्कीले गरेको बताएका छन् । अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङले र आफूले मात्र भोट हालेको पनि उनले स्वीकार गरेका छन् । अर्यालको समर्थकमा बसेकी सुनिताकुमारी गुरुङ रामलाई दबाब दिएर भोट हाल्न नलगाएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *