सत्ता गठबन्धनको छफलमा नेतृत्वका विभिन्न विकल्प प्रस्तुत

माओवादीको समर्थनमा तटस्थ राष्ट्रपति, देउवा पहिलो प्रधानमन्त्री

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरु राज्य सञ्चालका प्रमुख पदहरुको भागबन्डा (पावर सेयरिङ)मा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच को पहिले प्रधानमन्त्री बन्ने भन्ने छलफल बालुटारमा चलिरहेको छ । यो छफलमा प्रधानमन्त्री, राष्ट्रपति, सभामुखसहितका कार्यकारी पदहरुको कसकसलाई दिने भन्ने विषय मुख्य रुपमा रहेको छ ।

यही बेला माओवादीको समर्थनमा तटस्थ राष्ट्रपति रहने र देउवा पहिलो प्रधानमन्त्री बन्ने गरी सत्ता गठबन्धनमा नयाँ विकल्प प्रस्तुत भएको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेका दल शक्ति बाँडफाँटको अन्तिम कसरतमा छन् ।

बिहान पार्टीभित्र आन्तरिक र शीर्ष नेताहरुबीच चरणबद्व छलफलपछि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । गठबन्धनमा निर्णायक भूमिकामा रहेका कांग्रेस र माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनाउन चौतर्फी प्रयास गरिरहेका छन् ।

माओवादी केन्द्रका नेताहरुले नेकपा एमालेसँग पनि अनौपचारिक छलफल गरिरहेका छन् भने कांग्रेसले पनि एमालेसँग संवाद टुटाएको छैन । आइतबार बिहानमात्रै कांग्रेस नेता विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीलाई निवासमै पुगेर भेटेका थिए ।

बालुवाटार स्रोतका अनुसार अहिले गठबन्धनकै सरकार बनाउने विषयमा सहमति जुटाउन अन्तिम कसरत चलिरहेको छ । हालसम्म प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच को पहिले प्रधानमन्त्री हुने भन्ने सहमति हुन सकेको छैन ।

देउवाले पहिला दुई वर्ष आफू प्रधानमन्त्री बन्ने र त्यसपछिका २ वर्ष माओवादी अध्यक्ष दाहाल र चुनावी वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने गरी सहमति गर्न प्रस्ताव गरेका छन् । तर दाहालले भने आफू पहिलो कार्यकालमै प्रधानमन्त्री हुनुपर्ने दाबी गरिरहेको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *