भारतीय विश्वविद्यालयसँग ‘एसपीए’को भगिनी सम्बन्ध, विद्यार्थी आदान-प्रदान

धनगढी । दक्षिण भारतको प्रसिद्ध भारत विश्वविद्यालय (इन्स्टिच्युट अफ हाइअर एडुकेसन एण्ड रिसर्च, बेहर) र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)बीच भगिनी सम्बन्ध स्थापना भएको छ ।

सम्झौता पत्रमा एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय र भारत विश्वविद्यालयका नामले परिचित बिहेरका उपकुलपति प्राध्यापक डा. बैकण्टेस बाबुले हस्ताक्षर गरे । सम्झौताअनुसार दुवै संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, छात्रवृत्ति वितरण, पाठ्यसामग्री तथा पुस्तकहरू तथा अनुसन्धान सामाग्रीहरूको आदानप्रदान हुनेछ ।

‘अध्ययन, अनुसन्धानका दुवै शैक्षिक संस्थाबीच प्राध्यापकहरू तथा विद्यार्थीहरू आदानप्रदान हुनेछ । त्यसबाहेक शैक्षिक कार्यक्रम, पुस्तक, पाठ्यसामग्री र विभिन्न अनुसन्धान प्रोजेक्टहरूमा साथमा काम गर्ने समझदारी भएको छ,’ सम्झौता पत्रमा उल्लेख छ ।

सन् १९८४ मा स्थापित भारत विश्वविद्यालयमा विश्वभरबाट १० हजारभन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत छन् । ६०३ एकड क्षेत्रफलमा फैलिएको विश्वविद्यालय अन्तर्गत भारत मेडिकल कलेज र हस्पिटल, श्री बालाजी कलेज अफ नर्सिङ, श्री बालाजी मेडिकल कलेज एण्ड हस्पिटल, श्री लक्ष्मी नारायण इन्स्टिच्युट अफ मेडिकल साइन्सलगायत शैक्षिक संस्था आबद्ध छन् । यस्तै बिहेरमा इन्जिनियरिङ एण्ड टेक्नोलोजी, कानुन, फार्मेसी, मिडिया, आर्ट्स एण्ड साइन्सलगायतका विषयहरूमा अध्ययन अध्यापन हुन्छ ।

सम्झौताअनुसार अब प्राज्ञिक अध्ययन अनुसन्धानका लागि दुवै शैक्षिक संस्थाका प्राध्यापकहरू एक अर्को ठाउँमा जानेछन् । दुवैतर्फका विद्यार्थीहरू एक अर्का संस्थामा अध्ययन गर्न पाउनेछन् । पाठ्यपुस्तक, वैज्ञानिक प्रकाशनहरू, एकेडेमिक प्रोजेक्टहरू, सेमिनारहरू आदानप्रदान हुनेछन् । एकअर्का शैक्षिक संस्थाका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने समझदारी पनि भएको छ ।

सम्झौता कार्यक्रमपश्चात् एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले उच्च प्राज्ञिक यात्रामा अघि बढ्ने लक्ष्यसहित एसपीएले दक्षिण भारतकै प्रसिद्ध विश्वविद्यालयसँग भगिनी सम्बन्ध स्थापना गरेको बताए ।

‘एसपीएलाई अध्ययन अध्यापनको थलो बनाउनका लागि र अनुभव आदानप्रदान तथा विशेषज्ञहरूको विशेषज्ञतालाई सदुपयोग गर्नका लागि हामीले दक्षिण भारतको अतिप्रशिद्ध विश्वविद्यालयसँग सम्झौता गरेका छौं,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘ उच्च प्राज्ञिक यात्रामा अघि बढ्ने लक्ष्य एसपीएले लिएको छ । यस समझदारीले विद्यार्थी, प्राध्यापकको अनुसन्धानात्मक क्रियाकलापमा सहयात्राको भूमिका निर्वाह गर्ने विश्वास छ ।’

भर्चुअल रूपमा भएको सम्झौता कार्यक्रममा बिहेर विश्वविद्यालयका सहायक उपकुलपति प्रा।के विजय भाष्कर राजु, डिन डा. अहमद हुसैन समेत उपस्थित हुनुहुन्थ्यो । यस्तै एसपीए कलेजकातर्फबाट क्याम्पस प्रमुख उपाध्यायसँगै उपप्राध्यापक तथा क्यूएए फोकल पर्सन जगन्नाथ जोशी र कलेजकी क्लब फेसिलिएटर तथा जनसम्पर्क अधिकृत अर्पणा गुप्ताको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *