गण्डकीका सांसद र मन्त्रीले कति पाउँछन् तलब ? अरू सुविधा के छ ?

पोखरा । गण्डकी प्रदेशमा सांसदको शपथ १४ गतेका लागि तय गरिएको छ । १३ गते जेष्ठ सदस्य मित्रलाल बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएपछि बस्यालले ५९ सांसदलाई संसद् भवनभित्र शपथ गराउने कार्यक्रम छ । योसँगै प्रदेशमा सांसदको कार्यकाल सुरु हुने छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सांसद र अन्य पदाधिकारीको तलब र सुविधाबारे धेरैको चासो छ । गण्डकी प्रदेश सभामा ३ वटा दलले संसदीय दलको हैसियत पाएको छ । नेपाली कांग्रेस २७ सीट सहित पहिलो पार्टी बन्दा २२ सीट पाएको एमाले दोस्रो तथा ८ सीट पाएको माओवादी तेस्रो दल बनेको छ । २ सीटको राप्रपा र १ सीटको एकीकृत समाजवादीलाई दलको मान्यता हुने छैन । उनीहरूले दलको नेता वा प्रमुख सचेतकको सुविधा पाउने छैनन् ।

संसदीय दलको मान्यता पाएका दलहरूले दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको सुविधा पाउने छन् । यसबाहेक ४ वटा संसदीय समिति संसद्मा रहनेछन् । गण्डकी प्रदेश सभाले संसद्का पदाधिकारी र सदस्यहरूको सेवा सुविधा सम्बन्धी छुट्टै कानून बनाएको छ । उक्त व्यवस्था अनुसार तीनवटा पार्टीले दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक तोक्न र सुविधा लिन पाउँछन् । गण्डकी प्रदेश सभामा सबैभन्दा धेरै सुविधा सभामुखको छ ।

उनले मासिक तलब ६३ हजार ४ सय ८० रुपैयाँ पाउँछन् । यो बर्सेनि महँगी अनुसार बढ्दै जान्छ । सञ्चार र इन्टरनेट सुविधा बापत २ हजार तोकिएको छ । उपसभामुख र विपक्षी दलको नेताले मासिक ६० हजार तलब पाउँछन् । अन्य दलको नेतालाई ५९ हजार ५ सय तलब तोकिएको छ । उपनेता, प्रमुख सचेतक र समितिका सभापतिहरूले ५८ हजार ८ सय ४० तलब छ । दलको सचेतकले ५६ हजार ५ सय २० मासिक तलब पाउँछन् । सांसदहरूले प्रतिव्यक्ति ५४ हजार २ सय तलब बुझ्छन् ।

यसबाहेक संसद् बैठक बसेको दिन थप १ हजार रुपैयाँ बैठक भत्ता सबैले पाउँछन् । सञ्चार र इन्टरनेट सुविधा स्वरूप सबैले १ हजार ५ सय बुझ्छन् । सभामुख र उपसभामुखले आवास सुविधा पाउँछन् भने विपक्षी दलको नेताले २० हजार मासिक तथा अन्यले मासिक १५ हजार रुपैयाँ घरभाडा बापतको रकम पाउने छन् । फर्निचरका लागि सबैलाई ५ वर्षको एकमुष्ट ५० हजार उपलब्ध गराइने छ ।

निजी सचिवालय बन्दोबस्तीका लागि मासिक सभामुखले २ हजार, उपसभामुख, विपक्षी दलको नेता र उपनेता तथा प्रमुख सचेतक र समितिका सभापतिलाई १ हजार ७ सय ५० दिइने छ । सांसदहरूले १ हजार २ सय पाउने छन् । सभामुख, उपसभामुख, विपक्षी दलको नेता, दलको नेता, समितिका सभापति र प्रमुख सचेतकलाई गाडी सुविधा छ । उपसभामुख र विपक्षी दलको नेताले १ सय ५० लिटर इन्धन पाउँछन् भने दलका नेता, प्रमुख सचेतक र समिति सभापतिलाई मासिक ९० लिटर इन्धनको व्यवस्था छ ।

धारा बिजुली सभामुख, उपसभामुख र विपक्षी दलको नेताले विल अनुसार पाउनेछन् भने अन्यले १ हजार ५ सय पाउने छन् । यसबाहेक दैनिक भ्रमण भत्ता स्वरूप सभामुखलाई २ हजार ५ सय र अन्यलाई २ हजार दिइनेछ भने विदेश भ्रमण गर्दा सभामुखले १ सय ७५ अमेरिकी डलर प्रतिदिन तथा अन्य सबैलाई १ सय ५० अमेरिकी डलर उपलब्ध गराइने छ । सबैले यात्रा बिमा स्वरूप १० लाख रुपैयाँ पाउने छन् भने सांसद र दलका उपनेताहरूलाई यातायात सुविधा बापत बैठक बसेको दिन प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ संसद् सचिवालयले उपलब्ध गराउने छ ।

यस्तै, मुख्यमन्त्रीलाई मासिक तलब ७२ हजार छ भने मन्त्रीहरूले ६२ हजार ३ सय २० रुपैयाँ पाउँछन् । राज्यमन्त्रीलाई ५८ हजार ८ सय ४० तथा सहायक मन्त्रीलाई ५६ हजार ५ सय २० रुपैयाँ तलब हुन्छ । गण्डकीमा १२ जनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *