बैंकको चर्को ब्याजदरविरुद्ध विराटनगरका व्यवसायी सडकमा

विराटनगर । बैंक को चर्को ब्याजदरको विरुद्धमा विराटनगरका व्यापारी सडक आन्दोलनमा उत्रिएका छन् । मोरङका व्यवसायी संस्थाले आन्दोलनको घोषणा गरेका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेका व्यवसायीले आजदेखि सडक आन्दोलन सुरु गरेका हुन् ।

विराटनगरमा रहेको नेपाल राष्ट्र बैंक को क्षेत्रीय कार्यालय विराटनगरमा धर्ना दिन पुगेका व्यवसायीले आफ्ना मागहरू पुरा नगरे आन्दोलनलाई निरन्तरता दिने बताएका हुन् । व्यवसायीले चालु पुँजी कर्जा निर्देशिका खारेज गरिनुपर्ने, एकल अङ्कको बैंक ब्याजदर कायम गरिनुपर्ने, स्प्रेडदर अधिकतम २ प्रतिशत हुनुपर्ने, संस्थागत ब्याजदर २ प्रतिशत निर्धारण गर्नुपर्ने तथा बैंकर र व्यवसायी एकै व्यक्ति हुनु नहुने माग अघि सारेका छन् ।

विराटनगरका ठुला व्यवसायी संस्था मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ, विराट व्यापार सङ्घ र नेपाल उद्योग परिसंघ (सीएनआई)प्रदेश १ले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् । यी संस्थासँगै अन्य ५० भन्दा बढी बस्तुगत व्यवसायी संस्थाले बैंक को ब्याजदरविरुद्ध राष्ट्रबैंक घेराउ गरेका हुन् । धर्ना तथा विरोध सभालाई सम्बोधन गर्दै सिएनआईका प्रदेश १ अध्यक्ष भीम घिमिरेले खुल्ला अर्थ नीतिको नाममा बैंकहरुलाई राष्ट्रबैंकले सामन्त बनाउने काम गरेको बताए ।

‘बैंकहरुलाई चोरेर खाऊ भनेर नीतिगत भ्रष्टाचार गरेर ८० प्रतिशतसम्म मुनाफा खाऊ भनेर बैंकहरुलाई छाडिएको छ, उनले भने, अहिले निजी क्षेत्र आन्दोलित हुनु पर्ने कारण पनि बैंकहरुलाई राष्ट्र बैंकले नीतिगत रूपमा गरिएको भ्रष्टाचारको विरुद्धमा हो ।’

अहिलेको सरकार र राष्ट्रबैंकले व्यवसायीलाई सडकमा जान बाध्य पारेको बताए । ‘यदि सिङ्गल डिजिजमा बैंक को ब्याजदर नल्याउने हो भने यो आन्दोलन जारी रहन्छ, घिमिरेले भने, आजदेखि विराटनगरको राष्ट्र बैंक को कार्यालयबाट पैसा भित्रन र बाहिरिन दिने छैनौँ ।’ मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले सरकारले व्यवसायीका समस्या नसुनेकै कारण आन्दोलनमा जानु पर्ने अवस्था आएको बताए । सरकार व्यवसायी मैत्री नभएको आरोप लगाएका रिजालले १६ प्रतिशत सम्म ब्याज उठाउनु कहाँसम्मको जिम्मेदार सरकार भएको व्यवसायीले महसुस गर्न नपाएको रिजालको भनाइ छ।

‘अहिले सरकार कहाँ छ ? हामीले महसुस गर्न पाएका छैनौँ, उनले भने, दलहरू कसरी हुन्छ सरकारमा जाने, देशलाई अस्तव्यस्त पर्ने र सत्ता स्वार्थमा केन्द्रित देखिएका छन् ।’ व्यवसायीहरू पटक पटक शोषणमा परेको बताए । ३० वर्ष पञ्चायतले शोषण गरेको, ३२ वर्ष लोकतन्त्र, गणतन्त्रात्मक र प्रजातन्त्रवादीहरुले शोषण गरेको रिजालले बताए ।

यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य राजन कँडेलले व्यवसाय बन्द गरेर बस्नु पर्ने अवस्था आएको बताए । घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले ठुला उद्योग मात्र हैन, लघु घरेलु तथा साना उद्योगहरू समेत चलायमान हुन नसक्ने अवस्था आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *