गण्डकी दुग्ध विकास बोर्ड: उपाध्यक्ष बनाउने कार्यविधि बाटैबाट गायब

पोखरा । गण्डकी दुग्ध विकास बोर्डमा उपाध्यक्ष नियुक्तिको अन्तिम प्रयास विफल भएको छ । अहिलेको सरकारबाट अब दुग्ध विकास बोर्डमा तत्काल नियुक्ति गर्ने सम्भावना टरेको हो ।

यही कार्यकालमा उपाध्यक्ष नियुक्त गर्नुपर्ने दबाब माओवादीको थियो । त्यसका लागि बुधबारको क्याबिनेट बैठकमा कार्यविधि पास गर्ने कार्यसूची थियो । कार्यसूचीमै चढिसकेको उक्त प्रस्ताव अन्ततः छलफल नगर्दै फिर्ता भएको हो । श्रोतका अनुसार बोर्डमा उपाध्यक्ष नियुक्तिका लागि मुख्यमन्त्रीलाई निकै ठूलो दबाब थियो ।

यसअघि पनि बोर्डमा उपाध्यक्षको शैक्षिक अनुभवलाई लिएर निकै ठूलो आलोचना भएको थियो । गण्डकीका अधिकांश ठूला नियुक्तिमा स्नातकोत्तर अध्ययन गरेका व्यक्तिलाई छनोट गर्ने कार्यविधि र ऐनहरू छन् ।

तर दुग्ध विकास बोर्डमा शैक्षिक प्रमाणपत्रबारे बोलेको छैन । ‘निकै धेरै प्रेसर भइरहेको छ । कार्यसूचीमा गइसकेको विषय थियो । तर बाटैबाट फिर्ता भएको छ,’ श्रोत भन्छ, ‘अब यो कार्यकालमा उक्त प्रस्ताव आउँदैन होला ।’

गण्डकीमा कृषि मन्त्रालय माओवादीकै भागमा छ । दुग्ध विकास बोर्ड मार्फत चीनबाट उन्नत गाई ल्याएर पाल्ने सरकारी तयारी छ । अध्ययन विना नै यी प्रस्ताव आएपछि थप अध्ययनका लागि फिर्ता भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =