बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन : मन्त्री चौधरी

काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चाधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने बताएका छन् । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै यस्तो बताएका हुन् ।

‘यत्रो फोहोर जम्मा भइराछ, गन्ध निस्कन्छ,’ उनले भने, ‘तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांश माग पूरा हुने चरणमा पनि छन् । पहुँच भएकाहरुले बन्चरे डाँडाबाट लाभ लिइरहेका छन् । तर यहाँका गरिब, सोझा मान्छेहरु वास्तवमै मारमा परेका छन् हजुर । यसमा पनि ध्यान दिनुपर्यो ।’

स्थानीयबासीको भनाइमा गम्भीर हुँदै मन्त्री चौधरीले भने, ‘हरेक ठाँउमा बदमासी गर्नेहरु हुन्छन् । त्यस्तालाई तपाईंहरु पनि पहिचान गर्नुस् । तपाईंहरुमाथि सरकारले अन्याय हुन दिन्न ।’

शहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरे डाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए ।

‘पहिलो चरण अन्तर्गत सेडिमेन्टेसन ट्याङ्क, लिथेट ट्याङ्क, कर्मचारी तथा सुरक्षाकर्मी बस्ने भवन, सार्वजनिक शौचालय, गाडी मर्मत भवन, प्रवेशद्वारलगायतका निर्माण कार्य थिए,’ उनले भने, ‘हामीले पहिलो चरणलाई सेल –१ र सेल–२ गरी दुई भागमा विभाजन गरेका थियौँ । सेल –१ को काम शतप्रतिशत सम्पन्न भइसकेको छ भने सेल–२ को ९५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

त्यसैगरी दोस्रो चरण अन्तर्गत ड्याम निर्माण, पहिरो नियन्त्रण, सडक तथा नाला निर्माण गरी शतप्रतिशत काम सम्पन्न भइसकेको छ ।’

तीनपिप्ले देखि बन्चरे डाँडा जाने मुख्य ढुवानी मार्गको मर्मत कार्य अन्तिम चरणमा रहेको र यसका साथै शहरी विकास मन्त्रालयले फोहोर मैला ढुवानीका लागि छुट्टै र छोटो दूरीको वैकल्पिक मार्गको डीपिआर सम्पन्न गरी ठेक्का दिन लागिएको पनि इन्जिनियर कटुवालले जानकारी दिए ।

पहिलो चरण र दोस्रो चरणको सम्भौता रकम क्रमशः ४४ करोड १३ लाख ४ हजार २२४ र ४९ करोड २५ लाख ६० हजार ३०५ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =