कांग्रेस संसदीय दलकाे निर्वाचन

आफ्नैले दिँदैनन् गगनलाई साथ, देउवाविरूद्ध भिडाएर गर्दैछन् घात

काठमाडौँ । नेपाली कांग्रेसलाई यतिबेला संसदीय दलको नेता अर्थात् प्रधानमन्त्रीको उम्मेदवार चुन्ने चटारो छ । कांग्रेसभित्र मौलाएका विभिन्न गुट तथा उपगुटका नेताबीच संसदीय दलको नेता बन्न तीव्र प्रतिस्पर्धा छ । पार्टीले सरकारको नेतृत्वको गरेको अवस्थामा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने कांग्रेसी व्यवस्थाका कारण पनि अहिले यो चुनावलाई सर्वाधिक महत्वका साथ हेरिएको छ । यसबारे सर्वत्र चासो बढेको छ ।

कांग्रेसभित्र संसदीय दलको नेता बन्ने इच्छा थुप्रै नेतामा छ । वर्तमान पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापा, शशांक कोइरालालगायत देखिएका थिए । यद्यपि, दलको नेताको चुनाव नजिकिँदै जाँदा हाल मैदानमा देउवा र थापा मात्रै बाँकी छन् । यी दुई नेताको नाम अहिले प्रखर रूपमा उठेका छ ।

पार्टी संस्थापन पक्षका देउवाले संसदीय दलको नेता बन्न वा प्रधानमन्त्रीमा कायम नै रहने इच्छा राख्नु स्वाभाविक हो । तर, पार्टीको नेतृत्व युवा पुस्तामा पुस्तान्तरण हुनुपर्छ भनेर निरन्तर आवाज उठाउँदै आएका गगन थापाले पनि संसदीय दलको नेता बन्ने अपेक्षा राख्नुलाई अस्वाभाविक भन्न मिल्दैन ।

त्यसो त गगनलाई विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदीप पौडेलजस्ता नेताले समेत युवा अघि सर्नुपर्छ भनेर भरोसा दिँदै आएका थिए । पछिल्लो महाधिवेशनमा सभापतिमा पराजित भएका नेता शेखर कोइरालाले पनि गगनलाई अघि बढाउन चाहेकै देखिएको थियो । यही आड भरोसाका कारण गगनले गत निर्वाचनमा समेत आफूलाई सांसदको रूपमा मात्रै नभई प्रधानमन्त्रीका रूपमा भोट हाल्न काठमाडौँ–४ का सचेत मतदातालाई घरघर पुगेर आग्रह गरे । गगनको आग्रहलाई मतदाताले माने । एमालेका युवा राजन भट्टराईलाई पराजित गर्दै उनलाई भारी बहुमतले जिताए । उनले संसदीय दलको नेतामा आफूले प्रतिस्पर्धा गर्ने बताएका थिए । अब त्यो परीक्षाकाे घडी आएको छ । ६ पुसमा हुने संसदीय दलको नेता र संसदीय दलको कार्यसमितिको निर्वाचनमा गगनले उम्मेदवारी दिन्छन् या दिँदैनन् परिणाम देखिन बाँकी छ ।

गगनले उम्मेदवारी दिएको खण्डमा उनलाई प्रधानमन्त्री बन्छु भन्दै भोट माग्न उक्साउने विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरुले गगनलाई साथ दिन्छन् कि छोड्छन् त्यो हेर्न बाँकी छ । त्यसकारण यो परीक्षा गगनको मात्रै होइन, विश्वप्रकाशजस्ता कांग्रेसभित्रका समग्र युवापंक्ति, जसले गगनलाई हिजोसम्म उचाल्नु उचाले, उनीहरूको पनि हो । परीक्षा युवाहरूको मात्र हो ।

बाँकी फरक गुटको नेतृत्व गर्ने रामचन्द्र पौडेललाई राष्ट्रपति र शेखरलाई आउँदो महाधिवेशनमा सभापति जस्तो पदले लोभ्याउन सक्छ । यस्तै केही पदले शशांकलाई पनि लोभ्याउन सक्छ । सभापति देउवाले उनीहरूलाई यस्ता पदको ललिपप देखाएर फकाइसकेको पनि हुन सक्छ । सत्ता समीकरणमा आफू टिकिरहन सिपालु देउवाले यति पनि नगर्लान् भनेर कल्पना पनि गर्न सकिँदैन ।

तर, विश्वप्रकाश, प्रदीपहरूलाई पनि कुनै गतिलो मन्त्रालयको मन्त्री पदको ललिपपले लोभ्यायो भने नेपाली कांग्रेस र देशकै लागि त्यो भन्दा ठुलो दुर्भाग्य अरू केही हुन सक्दैन ।

गगनले कसको साथ पाउलान् त ?

गगनलाई विश्वप्रकाशले साथ देलान् ? अहिले प्रश्न प्रखर रूपमा आएको छ । किन पनि भने विश्वप्रकाशले सार्वजनिक अभिव्यक्तिहरूमा नेतृत्वमा पुस्तान्तरणको कुरा प्रखर रूपले उठाउँदै आएका थिए । शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन सहयोग गर्ने भन्दै विभिन्न भाषण तथा गगनसँगको भेटमा पनि पटक–पटक भन्दै आएका छन् ।

गगनले कांग्रेसमा आफ्नै टिमका नेता र अग्रजको साथ पाए संसदीय दलको नेतामा चुनिन सहज थियो ।

यद्यपि, तीनै विश्वप्रकाश अहिले गतिलो मन्त्रालयको ललिपपमा फस्न लागेको पार्टीका एक नेताले मकालु खबरसँग दाबी गरे । प्रदीप पौडेल मौन रहनुले उनले पनि थापालाई साथ दिन्छन् भन्नेमा शङ्का उब्जिएको छ । गगनलाई बाहिरी रूपमा समर्थन गरेजस्तो गर्ने र भोट भने देउवालाई हाल्ने दाउमा विश्वप्रकाशलगायत युवापंक्तिका नेताहरू रहेको देखिएको छ ।

ती नेता भन्छन्– ‘विश्वप्रकाश र देउवाको निरन्तर छलफल चलिरहेको छ ।’ उनका अनुसार शर्माले बाहिरी रूपमा सरकारमा सहभागी भएर कुनै मन्त्रालय नलिने बताए पनि वास्तवमा उनै सरकारमा गएर बलियो रूपमा मन्त्रालय चलाउन चाहेका छन् । आफ्नै समानका नेतालाई संसदीयको दलको नेताको रूपमा स्विकार्न शर्मालाई पनि गाह्रो परिरहेको छ ।

ती नेता भन्छन् ‘पछिल्लो समय विश्वप्रकाश गगनको एकोहोरो ढिपीबाट आजित छन् । विश्वप्रकाशले गगन भन्दा सिनियर र अवसर नपाएका नेताहरू भएकाले अहिले गगनको संसदीय दलको नेता हुने पालो नभएको कुरा शीर्ष नेताहरुको अगाडि राख्ने गरेका छन् । विश्वप्रकाश गगनलाई संसदीय दलको नेता मान्न तयार नभएकै हुन् । उनले जमात बटुल्न मात्र गगनलाई समर्थन गरेको जस्तो देखियो ।’

यता धनराज गुरुङ र प्रदीप पौडेल पनि गगललाई संसदीय दलको नेता बनाउनु हुन्न भन्ने मनसायमा रहेको विभिन्न अभिव्यक्ति दिइरहेको उनी निकट स्रोतले बताइरहेका छन् । यसो हुँदा गगन थापालाई अग्रजले मात्रै होइन, समकक्षी नेताहरूले पनि पनि साथ नदिने देखिएको छ । त्यसैले उनलाई संसदीय दलको नेता बन्न त्यति सजिलो छैन।

बन्दैछ गगन थापा गुट
पार्टीमा संस्थापन पक्षमा देउवा छन् भने इतर समूहको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेका छन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा कांग्रेस सभापति शेरबहादुर देउवा शक्तिशाली छन् । किनकी उनलाई संस्थापन र इतर दुवै समूहको साथ छ । डा. शेखर कोइराला र शशांक कोइरालाले पनि देउवालाई नै सहयोग गर्ने बुझिएको छ । यस्तै नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई नै सहयोग गर्ने छन् । यसो हुँदा बुधबार हुने निर्वाचनमा शेरबहादुर देउवा र गगन थापा मात्र चुनावमा भिड्ने देखिन्छ ।

महाधिवेशनपछि थापा कोइराला समूहका नेता भनेर चिनिँदै आएका छन् । त्यसअघि थापा सिटौला समूहमा थिए । महामन्त्री थापा अब पार्टीमा आफ्नै समूह बनाउने पक्षमा छन् । कांग्रेसमा विगतदेखि नै विभिन्न समूहको अस्तित्व रहँदै आएको छ । यसो हुँदा थापाको छुट्टै समूह निर्माण हुने देखिएको छ । चुनावमा भोट कम आए पनि यो प्रतिस्पर्धाले थापालाई कांग्रेसभित्रको एउटा गुट वा समूहको नेतृत्वको रूपमा भने स्थापित गरिदिने छ ।

कति आउला गगनको भोट
यदि थापालाई शेखर समूहले साथ दिएन भने उनले १५ देखि २० भोट ल्याउने छन् । यदि देउवा र शेखरको सेटिङ नमिले शेखरले गगनलाई साथ दिने शेखर निकट स्रोतले बताएको छ । शेखरले गगनलाई साथ दिए पनि गगनको भोट २५ देखि ३० मात्र हुने शेखर निकट एक नेताले बताए ।

‘शेखर र देउवा मिल्ने कुरा छ,’ ती नेताले भने, ‘किनकि शेखरलाई शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह कसैको साथ छैन । गगन जी आफ्नै समूह निर्माण गर्ने दाउमा हुनुहुन्छ । तर उहाँलाई कम मात्र युवा नेताको साथ छ । रामचन्द्र जी त राष्ट्रपति बनाउने भन्ने देउवाले गर्नुभएको कुरा सुनेर दङ्ग हुनुहुन्छ । उहाँलाई राष्ट्रपति बनाउँछु भनेर देउवाले बचन दिइसक्नु भएको छ ।’

किन उठ्न चाहन्छन् गगन देउवाको विपक्षमा
काङ्ग्रेसबाट पाँच पटकसम्म प्रधानमन्त्री भइसकेका देउवा छैटौँ पटक पनि प्रधानमन्त्री नै बन्ने दाउमा रहेको स्पष्ट देखिन्छ । यसो हुँदा गगन थापाले उनलाई युवा आउनु पर्छ सबैलाई पार्टीमा अवसर हुनुपर्‍यो भनेर आवाज उठाउँदै आएका छन् । उनको यो आवाजमा विश्वप्रकाश शर्माले पनि समर्थन गरे । त्यो कारण उनले आफ्नो अडानलाई निरन्तरता दिँदै काठमाडौं ४ का जनतालाई आफू प्रधानमन्त्री हुने आश्वासन दिएर भोट मागेका थिए । त्यो बेला उनकै पार्टीका प्रवक्ता प्रकाशशरण महतले गगनमाथि व्यङ्ग्यसमेत गरे । तर, गगनले निरन्तर प्रधानमन्त्री बन्छु भन्दै जनतालाई आश देखाएर भोट मागे । जनताले जिताए । तर अहिले उनलाई आफूले बोलेको कुरा पूरा गर्न कठिन हुने देखिएको छ । उनी देउवाको विपक्षमा उठ्नुको कारण भनेको जनतालाई दिएको आश्वासन पूरा गर्नु हो । अर्को कारण देउवाको विपक्षमा आफूलाई उभ्याएर शक्तिशाली बन्न खोज्नु हो । तर, उनलाई नेता मान्न उनका अग्रज र समकक्षी नै तयार नभएपछि गगनको संसदीय दलको नेता हुने सपना यो पटक पूरा नहुने पक्कापक्की छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *