पोखराले ल्याण्डफिल साइटमा फोहोर लैजान रोक्यो, वडामै फोहोर व्यवस्थापन गरिने

पोखरा । पोखरा महानगरपालिकाले अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा पर्ने ल्याण्डफिल साइटमा फोहोर लैजान बन्द गरेको छ । ४ वर्षअघि नै ल्याण्डफिल साइट हटाउन विमानस्थल निर्माण आयोजनाले पठाएको पत्रलाई बेवास्ता गरेको महानगरले अन्यत्र ल्याण्डफिलको व्यवस्था गर्न नसकेपछि चुनौती बढेको हो । अब पोखरा १४ स्थित ल्याण्डफिल साइटमा फोहोर फाल्न बन्द गरिएको महानगरले जनाएको छ ।

तत्कालका लागि फोहोरको व्यवस्थापनका गर्न महानगरका विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको मेयर धनराज आचार्यले बताए । केही समयका लागि वडामै फोहोर डम्प गरेर राखिने छ । फोहोर फालिसकेपछि पुर्ने र दीर्घकालीन व्यवस्थापनका लागि प्रशोधन केन्द्र स्थापना गरिनेछ,’ उनले भने, ‘प्रशोधन केन्द्र स्थापनाका लागि हाल विभिन्न विकल्पहरूमा छलफल भइरहेको छ ।’

विभिन्न मुलुकहरूमा फोहोरबाट बायो ग्याँस, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत विभिन्न सामाग्रीहरू समेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यस्तै कारखाना बनाउने आचार्यले बताए । यो ल्याण्डफिल साइट निर्माण सकिएको विमानस्थल सञ्चालनको प्रमुख बाधक बनेको थियो ।

एक सूचना जारी गरी महानगरले अब ल्याण्डफिल साइटमा फोहोर नलैजान आग्रह गरेको छ । अहिले चलिरहेको ल्याण्डफिल भने पुर्ने काम भइरहेको छ । यस्तै, नयाँ ल्याण्डफिल साइटको खोजीका लागि पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीको संयोजकत्वमा जग्गा खोज्ने समिति गठन भएको छ । २१, २२ र ३३ मध्ये कुनै एउटा वडामा फोहोरको ल्याण्डफिल साइट व्यवस्थापन हुने बताएको छ ।

पोखरा विमानस्थल यही जनवरी १ बाट सञ्चालनमा ल्याउने तयारी छ । भव्य उद्घाटनको तयारीमा नेपाल नागरिक उड्डयन प्राधिकरण लागिरहेको छ । यसअघि नै एरोथाइ कम्पनीको जहाजले मङ्सिर ५ देखि ११ गतेसम्म यान्त्रिक उडान सकेर प्रतिवेदन समेत दिइसकेको छ । करिब ४ हजार रोपनी क्षेत्रफलमा २२ अर्ब लगानीको विमानस्थल निर्माण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =