गण्डकीमा २४ दल र १५० उम्मेदवारको धरौटी जफत

पोखरा । गण्डकी प्रदेश सभाका लागि उम्मेदवारी दिएका २४ वटा राजनीतिक दल र १ सय ५० जना उम्मेदवारको धरौटी जफत भएको छ । समानुपातिक तर्फ कम्तीमा एक सिट नजिते धरौटी जफत हुने व्यवस्था छ ।

बन्दसूची पेश गरेका २४ दलले एक सिट पनि चुनाव जितेका छैनन् । यस्तै, प्रत्यक्ष तर्फ १ सय ५० जनाले खसेको मतको १० प्रतिशत प्राप्त नगरेका कारण जफत भएको हो । पुरुष १ सय २५ र महिला २५ गरी १५० जनाले धरौटी गुमाएका हुन् ।

गण्डकी प्रदेशमा ७ वटा राजनीतिक दलले समानुपातिक तर्फ थ्रेस होल्ड कटाएका थिए । तर ४ वटा दलले मात्रै समानुपातिक सिट पाएका छन् । कांग्रेस, एमाले, माओवादी र राप्रपाले सिट पाएका हुन् । एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाएका छन् । निर्वाचनको अन्तिम नतिजा निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएका छन् ।

गण्डकी प्रदेशको प्रदेश सभातर्फ ६० जना सदस्य निर्वाचित भएका छन् । जसमा ३९ जना पुरुष र २१ जना महिला छन् । संविधानले कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेका कारण प्रदेश सभामा ३५ प्रतिशत महिलाको उपस्थिति हुने भएको छ । ६० सदस्यीय प्रदेश सभामा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ जना निर्वाचित हुने व्यवस्था छ । प्रत्यक्ष तर्फ २४ वटा र समानुपातिकका लागि ३१ वटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए ।

१८ लाख १७ हजार मतदाता मध्ये १० लाख ४६ हजार ७ सय २८ जनाले मात्रै मतदान गरेका थिए । त्यसमध्ये प्रत्यक्षमा ३४ हजार १३ अर्थात् ३ दशमलव २५ प्रतिशत र समानुपातिकमा ६१ हजार ३ सय ३३ मत बदर भएको आयोगले जनाएको छ । अन्तिम नतिजा पेश गरेसँगै सांसदहरूको शपथको तयारीमा प्रदेश प्रमुखको कार्यालय जुटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *