दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

दमक । दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ । यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरिसकेको छ ।

दमक–२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्नका लागि दमक– ८ मा ‘रिफिल सेन्टर’ स्थापना गरिने भएको हो । नगरपालिकाको कार्यपालिका बैठकले दमक ८ स्थित सरस्वती माविको जग्गामा ‘रिफिल स्टेसन’ बनाउने निर्णय गरिएको थियो ।

यसका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ । नगरपालिकाले गत कात्तिक १९ गते रिफिलिङ सेन्टरका लागि जग्गा खोजी गर्न वडाध्यक्ष टेकबहादुर थापाको संयोजकत्वमा समिति बनाएको थियो । सोही समितिको प्रतिवेदनअनुसार रिफिल सन्टर बनाउन जग्गा दिने निर्णय गरिएको हो । उत्पादित ग्यास खेर गइरहेको भनेर नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले नगरपालिकासमक्ष जग्गा उपलब्ध गराइदिन माग गरेका थिए ।

दमकमा नमूनाको रूपमा रहेको फोहरबाट ऊर्जा उत्पादनको परियोजनाबाट ग्यास उत्पादन भए पनि अहिले यसलाई त्यसै डढाएर फ्याँक्ने गरिएको छ । दमक तथा आसपासका क्षेत्रमा कुद्ने सिटी सफारीलगायतका हलुका सवारी साधनलाई ग्यासबाट चल्ने बनाएर रिफिल गरिने भएको छ ।

नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध सञ्चालक विमल खतिवडाले यस परियोजनाअन्तर्गत दैनिक एक हजार ८४ केजी ग्यास उत्पादन गर्न सकिने अवस्था रहेको बताएका छन् । साथै दमकमा उत्पादित फोेरबाट ऊर्जा अर्थात् ग्यास उत्पादन गरेर कम्तीमा १५ सय परिवारलाई पाइपलाइनमार्फत वितरण गर्ने उद्देश्य राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *