कलहमा कान्छाे दल : स्थापनाकाे ६ महिनामै राष्ट्रिय दल बनेकाे रास्वपामा चुलियाे विवाद

काठमाडौँ । नेपालमा पार्टी स्थापनाको हिसाबले सबैभन्दा कान्छो पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी । ७ असार २०७९ मा एक सञ्चारकर्मी रवी लामिछानेको नेतृत्वमा यो पार्टी दर्ता भयो । देश बदल्न सञ्चारकर्मबाट खबरदारी गरिरहेका रवी राजनीतिक दल नै खोलेर कार्यपालिकाको कार्यकारी पदमा पुग्ने अठोट लिए । राजनीतिक दलमार्फत् नै कार्यकारी पदमा नपुगी देशमा विकासको लहर ल्याउन सकिँदैन भन्ने उनले ठाने । आफ्ना अठोट, प्रतिवद्धता, बाचा, कसम खानुसम्म खाए यिनले । आफ्ना कुरा जनतामा राखे । जनता पनि यिनीप्रति निकै आशावादी देखिए ।

रवीप्रति जनता किन पनि आशावादी देखिए भने यिनले टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’मार्फत विदेशमा दुःख पाएका नेपाली युवालाई उद्दार गरे । देशभित्रै देखिएका विकृति, विसंगति, भ्रष्टाचार र दुराचारविरुद्ध पनि उनले आवाज उठाए । सुधारका प्रयास गरे । बुलन्द आवाज, धाराप्रवाह भाषण गर्ने वा बोल्ने शैलीका कारण यिनी नेपाली युवामाझ पहिल्यैदेखि एक कुशल सञ्चारकर्मीका रुपमा परिचित भए । यो परिचयका कारण राजनीतिक दल खोलर स्थापित गर्न यिनलाई निकै सजिलो भयो । पुराना र स्थापित दलहरुप्रतिको वितृष्णा र रविका मीठा आश्वासनकै कारण उनको पार्टीले स्थापनाको ६ महिना पनि नपुग्दै भएको आम निर्वाचनमा राष्ट्रिय दलको मान्यता पायो । उनकै उमेद्वारले काठमाडौँ उपत्यका र चितवनसहति प्रतिनिधि सभामा ७ स्थानमा प्रत्यक्ष चुनाव जितेको छ । त्यस्तै, समानुपातिकमा थप १३ सिट पाएको यो पार्टीले कुल २७५ सदस्यी संसदमा २० सिट आफ्नो बनाएको छ । सायद नेपाली राजनीतिक इतिहासमै यो पहिलो घटना हुनुपर्छ जुन दल स्थापनाको ६ महिनामै २० सिटसहित राष्ट्रिय दल बन्न सफल भयो ।

यद्यपी, चुनाव सकियो । चुनावअघिको जस्तो अवस्था पनि परिवर्तन भयो । संसदमा आम नागरिकको प्रनिनिध बनेर जनताका अपेक्षा अनुसार काम गर्न जाने बेलामा अहिले यो पार्टीभित्र पनि किचलो सुरु भएको छ । अहिले त रास्वपालाई भोट दिने मतदाताको मनलाई नै ठेस पु¥याउने गरी यो पार्टीभित्र आन्तरिक असन्तुष्टि छचल्किन थालिसकेको छ ।

खास गरी यो पार्टीभित्र समानुपातिक नाम सिफारिस गरिएको सन्दर्भमा पार्टीभित्र असन्टुष्टी देखिएको छ ।

बन्दसूचीमा नाम भए पनि समानुपातिक सांसदमा पार्टीले आफूलाई नपठाएको भन्दै रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी नेतृत्वको विरोध गर्दै आएका छन् । यता सुनसरी जिल्ला सभापति लालविक्रम थापाले केन्द्रीय कार्यालय नै आएर धर्ना दिएर ‘समानुपातिक सूची सच्याउँदा सुरुवाती क्रमाङ्क बिगारेको भन्दै असन्तुष्टि पोखेका छन् ।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले बाहिर हल्ला भएजस्तो पार्टीभित्र विवाद तथा असन्टुष्टि नभएको बताएका छन् । उनले देशको चौथो ठुलो दल भएको हिसाबले पार्टीमा सबैको विचार सिद्धान्त एउटै नहुने तर्कसमेत गरे । पार्टीमा लाखौँ मान्छे जोडिएको हुनाले फरक फरक विचार राख्न सबैलाई छुट रहेको बताउँदै यसलाई सामान्य मान्न सकिने बताए ।

उनले भने, ‘पार्टी विधि र प्रक्रियामा चलाउन साथीहरूले झक्झक्याउनु स्वाभाविक हो । पार्टीमा सबै जनालाई समेटेर लानुपर्ने भएका कारण कोही छुट्ने र कोही जोडिने हुन्छ । निर्वाचन आयोगले छुट्याएको कलस्टर अनुसार पार्टी अगाडि बढ्नुपर्ने भएकाले सक्रिय साथीहरू छुटेको पनि हुन सक्छ । लालविक्रम थापाले हामीलाई विधि र प्रक्रिया मिच्नु भएन भनेर खबरदारी गर्नु भएको हो । गणेश कार्कीले असोज ३ गते भएको निर्णयमा अहिले आएर असन्टुष्टि जनाउनु भयो । उहाँहरूको यो खबरदारी पनि जायज छ । किनकी यो पार्टीमा आउनु पर्छ । खबरदारी हुनुपर्छ ।’

आजित भएर पुराना दल छोडेर नयाँ दल छानेका जनता निराश नहुन आग्रह गर्दै उनले आम जनताले दिएको मतलाई पार्टीले सही ठाउँमा सदुपयोग गर्नेसमेत बताए । उनले पार्टीले गल्ती गरेको जनतालाई लागेको भए असोज ३ गतेको निर्वाचन आयोगमा बन्दसूची हेर्न अनुरोधसमेत गरे । पार्टी विधि र प्रक्रियामा चलेको भन्दै उनले असोज ३ गतेको बन्दसूचीअनुसार नै पार्टीले निर्णय गरेको बताए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समानुपातिक सांसद डिपी अर्यालले पनि यो विवाद नभएर छलफल रहेको बताएका छन् । उनले यस्ता छलफलबाट पार्टीलाई फाइदा हुने बताए । पार्टीमा सबैले आफ्नो विचार राख्न पाउने बताउँदै यस्तो कुरा आउनु स्वाभाविक भएको उनले बताए ।

उनले भने, ‘हाम्रो पार्टीको आफ्नै विधि र विधान छ । हामीले पार्टीमा नयाँ ढंगको सोच राखेर ल्याएको हुनाले त्यसको धारमा पार्टी चलेको छ । जनतालाई हामीले के गर्ने भनेको बुझाउन नसकेका कारण उहाँहरु आत्तिनु भएको होला तर म जनतालाई नआत्तिन अनुरोध गर्छु । हाम्रो पार्टी विचलित भएको छैन । जनताले दिएको मतको कदर हुनेछ । पार्टीमा कुनै नातावाद कृपावाद हाबी हुने छैन । नेपाली भएको नाताले कतै कहाँबाट सम्बन्ध जोडिएको हुन जानु सामान्य छ ।’

तपाईंहरु सरकारमा जाने कुरामा पार्टीमा दुई धार देखियो भन्ने कुरा छ नि भन्ने प्रश्नमा प्रवक्ता ढकालले भने, ‘धार देखिएको होइन यो छलफल मात्र चलेको हो । कोही साथीहरूलाई सरकारमा गएर काम गर्ने मन परेको छ । कोही बाहिर बसेरै काम गर्ने इच्छुक हुनुहुन्छ । पार्टीमा यस्ता खालका धेरै सोच आउनु राम्रो हो । अब हामी भागबन्डाको आधारमा राजनीति गर्दैनौँ, एजेन्डाको आधारमा राजनीति गर्छौँ । हामी सबै यो कुरामा सहमत छौँ । हामी सरकार गए पनि मन्त्रालय यो यो चाहियो भनेर छलफल गर्ने छैन । हामी यो यो एजेन्डा पूरा गर्नुपर्छ भनेर जाने हो । हाम्रो सोच भनेको राजनीतिलाई पुनर्भाषित गर्नु हो । हामी के काम गर्ने भन्ने कुरामा सहमति भएर मात्र सरकारमा जाने हो । हामीले सरकारलाई समर्थन हुनका लागि हामीले वाचा पत्रमा भएका कुरा पुरा गर्नेका लागि त हामी नगए पनि अरुनै बसेर हामीले समर्थन गरे हुन्छ । हाम्रो बाचा पूरा गर्ने भए हामी बाहिर बसेर भए पनि समर्थन गर्ने तयार छौँ । हामीलाई मन्त्रालय चाहिएको होइन । हाम्रो काम र एजेन्डा पूरा गर्ने मान्छे चाहिएको हो । हामी नै जानुपर्छ भन्ने कुरा आए सोचौला । हामीले वाचा गरेका कुरा पूरा गरे हामी बाहिरबाट भए पनि समर्थन गर्ने तयार छौँ ।’

उनले हाल विभिन्न दलहरूले आफूलाई सहयोग गर्ने भनिरहेको तर आफूहरू आफ्ना एजेन्डा भन्दा बाहिर नजाने समेत बताए ।

उनले भने, ‘गठबन्धन र गठबन्धन बाहिरका अन्य दल र नेताले पनि हामीसँग छलफलमा हुनुहुन्छ । हामीले हाम्रा एजेन्डा पुरा गर्ने भए तपाइँहरूलाई सहयोग गर्ने छौँ भनेका छौँ ।’

सोही प्रश्नमा सांसद अर्यालले केन्द्रीय कमिटीले सरकारमा जाने नजाने के निर्णय गर्छ सोही अनुसार आफूहरू अगाडि बढ्ने बताए । सभापति र अन्य दुई धार पार्टीमा नभएको जिकिर गर्दै बाहिर हल्ला मात्र भएको तर्क गरे ।

उनले भने, ‘सरकारमा जाने नजाने कुरामा सामान्य बहस मात्र भएको छ । केन्द्रीय कमिटीले केही निर्णय गरेको छैन । सरकारमा जाने कुरामा बहस मात्र चलेको छ । को कता को कता भन्ने पार्टीमा कुरा भएको यो हल्ला मात्र हो । हामीबिना सरकार नबन्ने भो भने जान पनि सकिन्छ । तर सरकारमा जाने तयारी छैन । हामीसँग सबै दलका नेताले परामर्श गरिरहनु भएको छ । गठबन्धनका नेताहरू पनि छलफलमा हुनुहुन्छ ।’

यस्तै, नव निर्वाचित सांसद असिम साहले पनि पार्टीमा विवाद नभएको बताए । उनले पार्टी नयाँ ढङ्गबाट अगाडि बढ्ने भएकाले सरकारमा जाने या नजाने भन्ने विषयमा छलफल मात्र चलेको बताए ।

उनले भने, ‘हामीले पार्टीले के निर्णय गर्छ त्यही गर्ने हो अहिले छलफल चलिरहेको छ । मैले सरकारमा जान्छु जाँदिनँ भन्न नै मिल्दैन । पार्टीको निर्णय नै हाम्रो निर्णय हो । यसलाई हामीले मान्नु पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *