बागमतीको मुख्यमन्त्री : इन्द्र बानियाँ कि बहादुर लामा ?

काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । यस प्रदेशमा कांग्रेसले ३७ सिट जितेको छ । गठबन्धनको सरकार बनेको खण्डमा ठूलो दलको नाताले पनि बागमती प्रदेशको नेतृत्व कांग्रेसले लिने देखिन्छ । बागमती प्रदेशको मुख्यमन्त्री दौडमा कांग्रेसभित्र दुई नेता अग्रभागमा देखिएका छन् ।

कांग्रेसका वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आफूलाई मुख्यमन्त्रीको लागि दावी गरिरहेका छन् । हुन त बानियाँ गठबन्धन बनेपछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्दा आलोपालो सर्त रहेको भन्दै चुनावअघि नै मुख्यमन्त्री बन्न चाहन्थे । त्यतिबेला पाँच दलीय गठबन्धनले बागमतीको मुख्यमन्त्री फेर्न अग्रसरता नदेखाएपछि बानियाँ आफैँ व्याक हेटका थिए । निर्वाचित भएपछि यतिबेला बानियाँ मुख्यमन्त्रीको लागि दौडधूप गरिरहेका छन् ।

मुख्यमन्त्रीका दावेदार रहेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ प्रदेश सभामा दोस्रोपटक निर्वाचित भएका छन्। उनी मकवानपुरको प्रतिनिधिसभा २ तर्फको प्रदेश सभा क्षेत्र (२) बाट निर्वाचित भए। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा बागमती प्रदेशको सभापति पदमा बानियाँ १५८ मतले विजयी भएका छन् । बानियाँले १ हजार ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याएका थिए ।

२०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ५२ बर्षीय बानियाँले मकवानपुरमा कम्युनिष्टको किल्ला भत्काए । २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजयी भएदेखि निरन्तर सांसद रहेका छन् । उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी संहालेका थिए । कांग्रेसमा शेरबहादुर देउवा प्यानलको नेताको रूपमा चिनिएका बानियाँ पछिल्लो समय उनी थप सकसमा छन् ।

बालुवाटार भित्रैबाट देउवा प्यानलकै अर्का नेता बहादुर लामालाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने संकेत देखेपछि बानियाँ संस्थापन इतर पक्षका नेतासँग छलफल अघि बढाएका छन् । वागमती प्रदेशसभा निर्वाचित सांसदमा देउवा प्यानलको बहुमत रहेको छ । बानियाँ र लामा दुबैले मुख्यमन्त्री दावी गरेपछि देउवा प्यानलका एक समूह लामासँग नजिकिएपछि बानियाँ थप चिन्तित बनेका स्रोतको भनाइ छ । मुख्यमन्त्रीको लागि बानियाँ संस्थापन इतर समूहसँग सम्पर्कमा पुगेपछि इतर समूहले बानियाँको पक्षमा सकारात्मक संकेत मिल्ने जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नुवाकोटका बहादुर लामालाई मुख्यमन्त्री बनाउने लविङमा अर्जुननरसिंह केसी पनि लागेका छन् । लामाले नुवाकोटमा केसीलाई जिताउन ठूलो भुमिका खलेका थिए । प्रदेशसभा सदस्य निर्वाचित भए लगतै लामा र बानियाँ दुबैले बागमती प्रदेशको संसदीय दलको नेता बनेर मुख्यमन्त्री बन्ने दाउमा छन् । दुबै संस्थापन पक्षका नेता भएका कारण यतिबेला मिलाउन देउवा पक्षलाई पनि सकस भइरहेको बुझिएको छ । प्रतिनिधिसभा सदस्यको टिकटका दावेदार लामा मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा झरेर नुवाकोट २ को २ बाट निर्वाचित भएका छन् । लामा २०४३ सालदेखि राजनीतिमा लागेर नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय प्रतिबावान नेता हुन् ।

कांग्रेसको वर्तमान केन्द्रीय सदस्य लामा नेपाली कांग्रेसभित्र इमानदार र विकासप्रेमी नेताको रुपमा चिनिन्छन् । एमाओवादीका चर्चित नेता स्व पोष्टबहादुर बोगटीलाई दोस्रो संविधानसभा निर्वाचनमा भारी मतले हराएपछि लामाको चर्चा चुलिएको हो । नेपाली काँग्रेसका नेता तथा निर्माण व्यावसायी लामा विभिन्न संघ संस्थामा आवद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय छन् ।

बानियाँ र लामा दुबैले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरिरहँदा कुन पक्ष बलियो बन्ने हो, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *