कोशी अस्पताल भवन निर्माण : ५० करोडको स्टिमेट, ३३ करोडमा सम्झौता, कामै नगरी ठेकेदार फरार

विराटनगर । ठेकेदार भागेपछि विराटनगरको कोशी अस्पताल निर्माणको काम अलपत्र परेको छ। भदौदेखि निर्माणको काम नै नगरी निर्माणको जिम्मेवारी लिएको ठेकेदार भागेपछि अहिले सार्वजनिक सूचना नै जारी गरिएको छ । प्रदेश १ कै हब अस्पतालको रूपमा रहेको कोशी अस्पतालको आईसीयु, न्युरो एण्ड नेफ्रोलोजी भवनको निर्माणको काम सुरु गरेको केही महिनामै ठेकेदार भागेको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको संघीय आयोजना कार्यान्वयन ईकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७१४ रुपैयाँ ३४ पैसाको लागत स्टिमेट तयार गरेर टेन्डर आव्हान गरेको थियो । टेण्डरमा ३३ करोड २२ लाख ४८ हजार ९११ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । रमण/भूमि/विआईपिएल जेभीले २०७८ असार २३ गते सम्झौता गरी २०८० पुस २२ मा निर्माण सम्पन्न गर्ने गरी ३० महिने ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता अनुसार ४ तले भवन निर्माण गर्नु पर्नेमा निर्माण सुरु गरेको केही महिनामै ठेकेदार कम्पनी कामै नगरी सम्पर्क विहीन भएको संघीय आयोजना कार्यान्वयन ईकाईका इन्जिनियर अशोककुमार रामले जानकारी दिए ।

‘सुरुमा ठेक्का सम्झौता भएको ४ महिनासम्म काम गर्न सकेन, उनले भने, त्यसपछि २०७८ कात्तिक देखि २०७९ असारसम्म निर्माणको काम भए पनि त्यसयता काम भएको छैन ।’

कामै नगरेपछि ठेकेदार कम्पनीलाई आयोजना कार्यान्वयन ईकाईले २०७९ साउन २६ गते काम ढिला गर्नुको कारणको बारेमा पत्र काटेको थियो । यो बिचमा पनि काम नगरेपछि आयोजना कार्यान्वयन ईकाईले भदौ १५ मा फेरी दोस्रो पत्र काटेर काम सुचारु हुन नसक्नुको बारेमा जवाफ मागेको छ । त्यसको आधारमा भदौको अन्तिमदेखि असोजको २५ गतेसम्म काम गरेको देखिए पनि त्यसयता ठेकेदार बेपत्ता भएको इन्जिनियर रामले मकालुखबरले जानकारी दिए ।

असोजको २५ गतेसम्म करिब १ महिना काम गरेको ठेकेदार कम्पनी अहिले सम्पर्क विहीन छ । कात्तिक ४ मा तेस्रो पत्र काटेको संघीय आयोजना कार्यान्वयन ईकाईले कात्तिक १८, कात्तिक २७ र मंसिर १ मा समेत गरी ६ पटक पत्र काटिसकेको छ। असोजको अन्तिमदेखि बेपत्ता भएको ठेकेदारहरु अहिलेसम्म सम्पर्कमा नआएपछि कार्यालयले मंसिर २५ गतेको नागरिक दैनिकमा सूचना नै प्रकाशित गरेर ७ दिन भित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ ।

‘निर्माणाधीन कार्य विगत लामो समयदेखि ठप्प रहेको र सो कार्य सुचारु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई मौखिक तथा लिखित रूपमा पटक पटक ताकेता गर्दा समेत सरकारी कार्यादेशको उल्लंघन र निर्देशनको बेवास्ता गरी नेपाल सरकारको खरिदसँग सम्बन्धित कानुनको उल्लंघन गरी कार्य सम्पन्न गर्न तदारुकता नदेखाएको हुँदा आम सर्वसाधारण सुविधा सम्पन्न अस्पताल भवनबाट स्वास्थ्य सेवा पाउने हक प्राप्त गर्न वञ्चित भएकाले के कति कारणले निर्माण कार्य नगरेको हो ? सोको चित बुझ्दो कारण सहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न र बाँकी कार्य यथाशीघ्र सञ्चालन गर्नु,’ सूचनामा भनिएको छ।

संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालयले भने अब ७ दिन भित्रमा सम्पर्कमा नआए वा स्पष्टीकरण पेस नगरेमा राखिएको धरौटी जफत गर्ने तयारी गरेको छ। अहिले ठेक्का सम्झौता भएका ३ वटा कम्पनी मध्ये कुनै एकले काम गर्ने कबोल गरेर काम थाले पनि ठेक्का सम्झौता कायम रहने अन्यथा ठेक्का सम्झौता समेत तोडेर नयाँ प्रक्रियाबाट जाने तयारीमा कार्यालय रहेको इन्जिनियर रामले बताए ।

ठेकेदार कम्पनीले ५ करोड ६९ लाख ४४ हजार ८९३ रुपैयाँ २०७९ असार मसान्तसम्म भुक्तानी लगिसकेको छ । निर्माणको ठेक्का पाएको रमण कन्स्ट्रक्सन पवन महतोको, भूमि कन्स्ट्रक्सन विराटनगरका व्यापारी अभिनाश बोहराको र विआईपिएल कृष्ण बोहराको नाममा रहेका कम्पनी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *