गण्डकीमा एमालेबाट समानुपातिक सांसद २ जिल्लाका मात्रै, कांग्रेसले दिदी बहिनीलाई नै सांसद बनायो

पोखरा । प्रदेश सभाको ६ निर्वाचन क्षेत्र रहेको कास्की र ४ निर्वाचन क्षेत्र रहेको बागलुङमा ७-७ जना सांसद हुने भएका छन् । बागलुङमा प्रत्यक्ष तर्फ ४ र समानुपातिकमा ७ जना गरी ११ सांसद बन्दा कास्कीबाट प्रत्यक्षमा ६ र समानुपातिकमा ५ सांसद परेका छन् ।

दलहरूले बुझाएको नाम समानुपातिक भनिए पनि भूगोलका हिसाबले केन्द्रीकृत भएको छ । एमालेले समानुपातिकतर्फ पाएको १० सिटमध्ये ८ जना दुई जिल्लाका मात्रै छन् । बागलुङका ४ र कास्कीका ४ जना एमालेबाट सांसद बन्ने भएका छन् ।

बागलुङमा गोविन्द परियार, कृष्ण पाठक, विना थापा र लीलबहादुर थापा सांसद बनेका हुन् । यस्तै, कास्कीमा नन्दकला दमै, देवका पहारी, प्रकाश केसी र राजकुमारी भुजेललाई सांसद बनाइएको छ । बाँकी २ जना मध्ये लमजुङकी यशोदा रिमाल र स्याङजाकी निर्मला थापा सांसद बनेका छन् । एमालेको सूचीबाट ७ जिल्ला समानुपातिक सांसद निल भएको छ ।

कांग्रेसले पनि समानुपातिक वितरणलाई समावेशी बनाउन सकेको छैन । बागलुङबाट मात्रै दुई जनालाई समानुपातिक सांसद बनाइएको छ । चम्पादेवी खड्का र दीलमाया पौवि काङ्ग्रेसबाट सांसद बन्दा अर्की कुसुम बुढा माओवादीबाट अटाएकी छिन् । यसबाहेक प्रत्यक्षमा चुनाव जितेका ४ जना कांग्रेसका हुन् ।

कांग्रेसले स्याङ्जाबाट दिदी बहिनीलाई नै सांसद बनाइदिएको छ । नातामा दिदी बहिनी पर्ने एउटै वडाका सरस्वती अर्याल र कल्पना अर्याल सांसद बन्ने पक्का भएको हो । दुवै जना खसआर्य महिला कोटाबाट प्रदेश सांसद बन्न लागेका हुन् ।

गण्डकीका तीन जिल्लाले समानुपातिक सांसद नपाउने पक्का भएको छ । तनहुँ, मुस्ताङ र मनाङका कोही पनि सांसद समानुपातिकबाट छिर्ने सम्भावना छैन । स्याङ्जाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट ११ सांसद बनेका छन् । समानुपातिक र प्रत्यक्ष गरी स्याङ्जामा ८, नवलपुरमा ६ जना सांसद बनेका छन् । गोरखा र लमजुङमा ५-५, तनहुँमा ४ तथा पर्वत र म्याग्दीमा ३-३ जना सांसद छन् । मनाङ र मुस्ताङमा २/२ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *