समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी, पाँचवटा प्रदेशको सूचीमा समस्या

काठमाडौँ । निर्वाचन आयोगको कार्यालयले समानुपातिक सांसदहरूको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरूको सूची सार्वजनिक गर्ने तयारी भएको हो ।

निर्वाचन आयोगको अनुसार समानुपातिक सांसदहरूको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको छ । आज समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक गरिनेछ ।

नेकपा एमालेले ३४, नेपाली काँग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ जना सांसदको सूची बुझाएका थिए।

पाँचवटा प्रदेशको सूचीमा समस्या

प्रतिनिधि सभातर्फ समानुपातिकका लागि दलहरूले पठाएको सांसदहरूको सूची सच्याउनु नपर्ने भएको छ।

दलहरूले यसअघि बन्द सूचीमा समावेश गरेका नामहरू नै समावेशी सिद्धान्तअनुसार मिलाएर पठाएको पाइएको निर्वाचन आयोगले जनाएको छ ।

तर प्रदेश सभा समानुपातिकतर्फ भने दलहरूले पठाएका सूचीमा त्रुटि देखिएको छ । ती त्रुटि सच्याउन आयोगले आइतबार नै दलहरूलाई पत्राचार गरिसकेको छ । दलहरूले आजसम्म त्रुटि सच्याउन पाउनेछन् ।

विशेष गरी प्रदेश नम्बर १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलहरूले बुझाएका सूचीमा त्रुटि देखिएका छन्। क्लस्टरअनुसार सूची नबुझाएको पाइएको छ ।

आयोगका अनुसार दलहरूले त्रुटि सच्याएर पठाएपछि सांसदहरू निर्वाचित भएको घोषणा गरिनेछ र प्रमाण पत्र दिइनेछ ।

दलहरूले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *