चार वटा प्रदेशमा सजिलै बन्छ गठबन्धन सरकार, यस्ताे छ बहुमतकाे अंकगणित

काठमाडौँ । आम निर्वाचन २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले मंगलबार समानुपातिकतर्फको मत गणनासमेत सम्पन्न गरी दलहरूको सिट सङ्ख्या निर्धारण गरिसकेको छ ।

यसै आधारमा सात वटा प्रदेशमध्ये चार वटा प्रदेशमा सत्तारुढ गठबन्धनले आफ्नो वर्चस्व कायम गर्दै सजिलै सरकार गठन गर्नसक्ने समीकरण बनेको छ । बाँकी तीन वटा प्रदेशमा भने सत्ता गठबन्धनले बहुमत जुटाउन अन्य दललाई समेत साथ लिनुपर्ने देखिन्छ ।

गठबन्धनले सजिलै सरकार बनाउन सक्ने प्रदेश 

१. ११० सदस्यीय बागमती प्रदेशमा सत्तारुढ गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ ।

  • नेपाली काँग्रेस : प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १२ गरी जम्मा ३७ सिट प्राप्त ।
  • माओवादी केन्द्र : प्रत्यक्षतर्फ १४ र समानुपातिकमा ७ गरी जम्मा २१ सिट प्राप्त ।
  • नेकपा एकीकृत समाजवादी : प्रत्यक्षतर्फ ५ र समानुपातिकमा २ गरी जम्मा ७ सिट प्राप्त ।

सत्तारुढ गठबन्धनमा रहेका यी तीन वटै दलको सांसद संख्या ६५ हुन्छन्, जो बहुमतका लागि पूर्ण हो ।

२. ६० सदस्यीय गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने देखिन्छ ।

  • नेपाली काँग्रेस : प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट प्राप्त ।
  • नेकपा माओवादी केन्द्र : प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ३ गरी जम्मा ८ सिट प्राप्त ।

गण्डकी प्रदेशमा बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्दछ । यो आँकडा अनुसार काँग्रेस र माओवादी केन्द्र मिलेर सहजै पुग्ने देखिन्छ ।

३. ४० सदस्यीय कर्णाली प्रदेशसभामा पनि सत्ता गठबन्धनको बहुमत सहजै पुग्ने देखिएको छ ।

  • नेपाली काँग्रेस : प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ५ सहित जम्मा १४ सिट प्राप्त ।
  • माओवादी केन्द्र : प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ४ सहित १३ सिट प्राप्त ।

कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक हुन्छ, यस प्रदेशमा पनि काँग्रेस र माओवादी केन्द्र मिलेर सहजै प्राप्त हुने देखिन्छ ।

४. सुदूरपश्चिम प्रदेशमा ५३ सांसद रहन्छन् । सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक हुन्छ ।

  • नेपाली काँग्रेस : प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ७ गरी जम्मा १९ सिट प्राप्त ।
  • नेकपा माओवादी केन्द्र : प्रत्यक्षमा ८ र समानुपातिकमा ३ गरी ११ सिट प्राप्त ।

यो प्रदेशमा पनि काँग्रेस र माओवादी केन्द्र मिलेर सहजै बहुमतको आँकडा पार गर्ने देखिन्छ ।

त्यस्तै, बाँकी तीन वटा प्रदेशमा भने सत्ता गठबन्धनले बहुमत जुटाउन अन्य दललाई समेत साथ लिनुपर्ने अवस्था देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *