लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सारियो

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएको छ । बुटवलमा रहेको प्रदेश राजधानीलाई दाङ सार्नु नहुने भन्दै केही पक्षले विवाद गरिरहेको बेला प्रदेश सरकारले सोमबार रातारात मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा सारेको हो ।

मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामान सोमबार राती प्रदेशको स्थायी राजधानी देउखुरी सारिएको हो । मंगलबार बिहान भने उक्त सामानहरु देउखुरीस्थिति कार्यालयमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

यसअघि प्रदेश सभाले लुम्बिनी प्रदेश सभाको दुईतिहाई बहुमतले २० असोज २०७७ मा राजधानी दाङको देउखुरीमा सार्ने प्रस्तावलाई पारित गरेको थियो । तर, राजधानीका लागि चाहिने संरचनाको अभाव रहेको भन्दै राजधानी दाङमा सारिएको थिएन ।

उक्त निर्णय कार्यान्वयन गर्दै मुख्यमन्त्रीले आफ्नो मुकाम देउखुरी सारेको बताइएको छ । हाल राप्ती प्राविधिक शिक्षालयका भवनहरुमा लुम्बिनी प्रदेशका कार्यालयहरु स्थापना गर्ने काम भइरहेको छ । राप्ती प्राविधिक शिक्षालयलाई भने दाङको गढवा गाउँपालिकाको सरस्वती उच्च माविमा स्थानान्तरण गरिएको छ ।

करिब १८ बिघा क्षेत्रफलमा राप्ती प्राविधिक शिक्षालय परिसरमा ४० भन्दा बढी साना/ठूला भवन छन् । दाङमा प्रदेशसभा भवनका लागि नयाँ भनव समेत निर्माण भयसकेको छ । यही महिनाको अन्तिमसम्ममा प्रदेश सभाको बैठक नयाँ भवनमा सञ्चालन गर्ने गरी तयारीको काम भइरहेको छ ।

प्रदेश सरकारका अन्य मन्त्रालय पनि अब दाङ सार्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *