पाँचौ पार्टी प्रवेश गरेका दीपक मनाङेको अर्ति : ‘राजनीतिलाई विकृत हुनबाट जोगाउनु छ’

पोखरा । सोमबार एकीकृत समाजवादीमा प्रवेश गरेसँगै यसअघिका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेका विषयमा अनेक टिका टिप्पणी सुरु भएको छ । मनाङेले सत्तामा रहिरहनका लागि एकीकृत समाजवादीलाई प्रयोग गरेका हुन्, यसमा कुनै शंका छैन । उनी प्रदेशमा तेस्रो पटक युवा तथा खेलकुद मन्त्रीको रूपमा कार्यरत छन् ।

दलहरूलाई जिल्याएर सत्ताको फाइदा लिन जान्ने मनाङेले अबको सरकारमा सत्ता बाहिर हुने भएपछि एकीकृत समाजवादी रोजे ।  पार्टी प्रवेशसँगै विज्ञप्ति निकालेर मनाङेले राजनीतिक दलहरूलाई उपदेश समेत दिन भ्याए ।

उनले हाल राजनीतिक पार्टीहरु विकृत बन्दै गएकोले निस्वार्थ राजनीति जोगाउन आफू पार्टी प्रवेश गरेको बताए । ‘राजनीति कमाउनको लागि होइन सेवा भावले निस्वार्थ रूपमा जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायित्व हो,’ उनले भने, ‘परिवर्तित परिस्थितिमा एक्लै रहनु भन्दा राजनीतिक पार्टीको संगठनमा आबद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा म पुगेको छु ।’

उनले आफ्नो उद्देश्यसँग मेल खाने पार्टी एकीकृत समाजवादी भएकोले नै उक्त पार्टी रोजेको प्रतिक्रिया दिएका छन् । ‘मेरो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को रहेको पाएँ । त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मिति देखि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा आबद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरूप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु,’ मनाङेले भने ।

उनले मंसिर ४ को निर्वाचनमा कांग्रेस र एमाले दुवैको समर्थनबाट सर्वसम्मत निर्वाचित भएका हुन् । एकीकृत समाजवादीमा छिर्नुअघि स्वतन्त्र रहे पनि त्यसअघि मनाङेले पटक पटक विभिन्न पार्टी चाहरिसकेका छन् ।

सुरुमा कांग्रेस निकट रहेको दाबी गर्ने उनी त्यसपछि राप्रपाको जिल्ला अध्यक्ष भए । राप्रपा छोडेर संघीय समाजवादीतिर ढल्किएका मनाङे अघिल्लो पटक सांसदको शपथ खाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरे । पार्टी विभाजन र सरकारमा भाँडभैलो हुने देखेपछि उनले नेकपा छोडेर स्वतन्त्र बस्ने निर्णय गरेका हुन् । त्यसपछि पनि विभिन्न पार्टी प्रवेशको होहल्ला चलिरहेको थियो । अहिले उनी एसमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *