संसद्मा गुरुङको तेस्रो यात्रा

वालिङ । प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी हुनुभएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुनुहुन्छ । विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उनी विजयी भएका थिए ।

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएकी एमाले नेत्री पद्माकुमारी अर्याललाई सोही क्षेत्रबाट यसपटक पराजित गर्ने उम्मेदवार गुरुङ हुन् । उनले पाँच हजार छ सय २७ मतले एमाले केन्द्रीय सचिव अर्याललाई पराजित गरेका हुन् । गुरुङले ३१ हजार चार सय ६६ मत ल्याई विजयी हुँदा अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरे ।

विसं २०२२ मा स्याङ्जाको साविक अर्जुनचौपारी गाविस–७ तथा हालको अर्जुनचौपारी गाउँपालिका–२ मा पिता पूर्णबहादुर गुरुङ र माता पियारी गुरुङका कान्छो सुपुत्रका रुपमा उनको जन्म भएको हो । राजनीतिक यात्रामा नेपाल विद्यार्थी सङ्घमा आबद्धता जनाएका गुरुङ १४ वर्षमा २०३६ सालको आन्दोलनमा सहभागी भए । विसं २०३८ मा १६ वर्षमा हालको भिरकोट–२ स्थित दहथुम माध्यमिक विद्यालयको नेविसङ्घ एकाइ सभापति भए ।

विसं २०४० मा नेविसङ्घ स्याङ्जा जिल्ला सचिव भई काम गर्नुभएका गुरुङ विसं २०४३ मा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वत्रन्त्र विद्यर्थी युनियनमा नेविसङ्घकातर्फबाट प्रतिस्पर्धामा उत्रिएका थिए । विसं २०४८ मा कांग्रेस महाधिवेशन प्रतिनिधिकारुपमा निर्वाचित भएका गुरुङ सोही वर्ष नै नेविसङ्घको केन्द्रीय उपसभापतिमा निर्वाचित भए । विसं २०५३ मा नेविसङ्घको सभापति बन्नुभएका गुरुङ एक वर्षपछि २०५४ सालमा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भई काम गरेका थिए ।

गुरुङ २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सांसद बनेका थिए । यसपटक प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी हुनुभएका नेता गुरुङ तेस्रो पटक प्रतिनिधिसभामा प्रवेश गरेकाहुन् । पार्टीको १२औँ र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनी १४औँ महाधिवेशनबाट भने केन्द्रीय उपसभापतिमा विजयी भए ।

गुरुङले भ्रष्टाचार र सुशासनका विरुद्धको आफ्नो जीत भएको बताएका छन् । यहाँका सर्वसाधारणले आफूले अगाडि सारेको भ्रष्टाचार र सुशासनका एजेण्डामा सहमति जनाउँदै आफ्नो मत जाहेर गरेकाले अब संसद्मा यही विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाए ।

‘विकासको अवरोधक भ्रष्टाचार हुनु र सुशासन कायम हुन नसक्नु हो’, उनले भने, ‘मेरो जित भनेकै भ्रष्टाचारविरुद्ध आवाज उठाउने र सुशासन कायम गर्नका लागि हो, मैले जुन एजेण्डा जनतामाझ राखेको थिएँ त्यसैमा निरन्तर लाग्नेछु ।’ निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएबमोजिमका विकास निर्माणका काममा पनि निरन्तर लाग्ने र पूरा गरेरै छाड्ने दाबी उनले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *