माइतीघरमा सुकुम्बासीकाे प्रदर्शन : सरकारसँग वार्ता गर्ने चाहना (तस्बिरहरु)

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा सरकारी जग्गा ओगटेर बस्दै आइरहेका भूमिहीन सुकुम्बासीले सोमबार काठमाडौँको माइतीघरमा भेला भई शान्तिपूर्ण दवाब र्याली निकालेका छन् ।
काठमाडौको वंशीघाट, थापाथली , शान्ति नगर, शंखमुल, गैर्हीगाँउलगायत क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुले सोमबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दवाब र्याली निकालेका हुन् ।
एकीकृत बागमती सभ्यता विकास परियोजना र काठमाडौँ महानगरपालिकाले सूचना निकाल्दै मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न खोज्दा झडप भएको थियो । मंसिर १२ को झडपमा परि महानगर प्रहरी प्रमुख राजु पाण्डे सहित ३३ जना नगरप्रहरी घाइते भएका थिए ।
त्यसपछि उनीहरुले दैनिकजसो विरोधका विभिन्न कार्यक्रम गर्द आएका छन् । उनीहरुले विकल्पसहित वार्ता र सहमतिको माध्यमबाट सुकुम्बासी समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । उनीहरूले ‘वार्ता र संवादकाे ढाेका खुला गर’, ‘बासको त्रास कहिलेसम्म ?’ लगायत नारा र प्रश्नसहितकाे प्लेकार्डसमेत प्रदर्शन गरेका छन् ।
१२ मंसिरमा नगरप्रहरीमाथि आक्रमण गर्नेमाथि कारवाही गर्न महानगरले किटानी जाहेरी दिएसँगै सुकुम्बासी नेता नारायण परिश्रमीसहित केहीको नाउँमा पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।











