लैङ्गिक हिंसाविरुद्ध सचेतना जगाउँदै कानुनका विद्यार्थी

बुटवल । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पारेर कालिका मानव ज्ञान माविका कानुन विषय पढिरहेका विद्यार्थीहरूले माध्यमिक तहका विद्यार्थीहरूको लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

स्कुले बालबालिकाहरूलाई लैङ्गिक हिंसा र मानव अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गर्नका लागि कालिका मानव ज्ञान मावि बुटवलमा कानुन अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरू आइतबार रुपन्देही र पश्चिम नवलपरासीका ३८ वटा विद्यालयमा पुगेका थिए। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न विद्यालयमा पुगेका विद्यार्थीहरूले आफूले सिकेका र समसामयिक कानुनी कुराहरू विद्यार्थीहरूलाई सिकाएका थिए ।

कक्षा कोठामा पढेको र अन्यत्र सिकेका कुराहरू आफूभन्दा साना विद्यार्थीहरूलाई सिकाउन पाउँदा फरक अनुभूति भएको र लैङ्गिक मुद्दामा समुदायमा बोल्न सक्ने हिम्मत आएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले बताए । ‘कक्षाकोठामा प्राप्त गरेको ज्ञानले कानुन र अधिकार बुझ्न मद्दत पुगेको थियो । विभिन्न विद्यालयमा गएर अरूलाई ती कुराहरू सिकाउँदा समाजमा कानुन र अधिकार प्रतिको बुझाई कति कमजोर रहेछ भन्ने जान्न सकियो ।’ कानुनी सचेतना कार्यक्रम लिएर जनहित मावि कान्छीबजार पुगेकी समीक्षा भण्डारीले बताइन् ।

शंकरनगर दुर्गादत्त माविका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले विद्यार्थीहरूद्वारा विद्यार्थीहरूलाई सिकाउँदा स्कुले विद्यार्थीहरूहरुले खुलेर आफ्ना समस्याहरू राख्न र छलफल गर्नसक्ने भएकोले यस्ता कार्यक्रमहरू राज्यस्तरबाट पनि सञ्चालन गर्नुपर्ने बताए ।

कालिका मानव ज्ञान माविले हरेक वर्ष मानव अधिकार दिवस र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विद्यालय र समुदायमा आधारित कानुनी सचेतना कार्यक्रमहरू गर्दै आएको छ । यसै अन्तर्गत आइतबार कक्षा ११ र १२ मा कानुन अध्ययन गर्ने विद्यार्थीहरू एकै समयमा ३८ विद्यालयका ५ हजार भन्दा बढी स्कुले विद्यार्थीहरूलाई लैङ्गिक हिंसा र मानव अधिकार, नेपालको कानुन तथा संविधान , नागरिक भूमिका र कर्तव्य, लागू औषध दुर्व्यसन सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कानुन पढ्ने विद्यार्थीहरू अन्य विद्यार्थीहरूको तुलनामा मानव अधिकार, कानुन र समसामयिक  मुद्दामा बढी जानकार हुने भएको र उनीहरूले बालबालिकाकै सिकाई स्तर अनुसार कुरा बुझाउन  सक्ने भएकोले विद्यार्थी सचेतना जगाउन र विद्यार्थीहरूमा नेतृत्व तथा प्रस्तुतीकरण क्षमता विकास गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने भएकोले विद्यालयले विद्यार्थीहरूलाई परिचालन गरेर कानुनी सचेतना कार्यक्रमहरू सञ्चालन गरेको कालिका मानव ज्ञान माविका प्रधानाध्यापक दिनेश थापा बताउँछन् ।

उनी भन्छन् ‘शहरका तारे होटेलमा अधिकारका बारेमा ठुलाठुला बहसहरू हुन्छन्, तर विद्यालयका बालबालिकाहरूलाई उनीहरूकै थलोमा गएर अधिकार र कानुनका कुरा सिकाउने कोही हुँदैनन् । कालिकाका कानुनका विद्यार्थीहरूले स्वयंसेवी रूपमा लामो समयदेखि यस्तो काम गर्दै आएका छन् । यसले कानुन पढ्ने विद्यार्थीहरू र अन्य विद्यालयका विद्यार्थीहरू दुबैलाई फाइदा पुगेको छ ।’

यसै सन्दर्भ शिक्षक युवराज कँडेलले कालिका मानव ज्ञान माविले कानुनका विद्यार्थीहरूलाई ७० दिने व्यवहारिक अभ्यास गराउँदै आएको छ । यस अन्तर्गत नमुना संसद्, अभ्यास अदालत, स्थानीय सरकारसँग कानुनका विद्यार्थी, प्रहरीसँग विद्यार्थीहरू, सामुदायिक कानुनी सचेतना कार्यक्रम र विद्यार्थीहरूको लागि कानुनी सचेतना जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कानुन समूहतर्फ नेपालमै सर्वोत्कृष्ट नतिजा दिँदै आएको कालिका मानव ज्ञान मावि कानुन समूहमा २०० विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *