नेकपा एसको राष्ट्रिय दल बन्ने बाटो साघुँरिदै, अझै कटाउन सकेन ३ लाख मत

काठमाडाैँ । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना लगभग सकिएको छ । अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणना मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

हालसम्म गणना भएको सदर १ करोड ४ लाख २० हजार १२५ मतमध्ये सबै भन्दा बढी नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ अर्थात २६.७६ प्रतिशत मत पाएको छ । प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ अर्थात २५.५३ प्रतिशत मत पाएको छ ।

तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार १२४ अर्थात मत अर्थात ११.१५ प्रतिशत मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ अर्थात १०.७९ प्रतिशत मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८ अर्थात ५.६३ प्रतिशत मत पाएको छ ।

जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ अर्थात ४.०४ प्रतिशत मत पाएको छ । यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार५२३ अर्थात ३.७९ प्रतिशत मत पाएर राष्ट्रिय पार्टी बनेको छ । कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान छ ।

यता नेकपा (एकीकृत समाजवादी)ले हालसम्म २ लाख ९४ हजार ३६२ अर्थात २.८२ प्रतिशत मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१ मत पाएका छन्। बाँकी दलहरूले १ लाख मत कटाउन सकेका छैनन् । प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८१ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *