धनराजलाई शुभकामना दिँदै पद्‍माले भनिन्- ‘बुथ कब्जा गरी खसालिएको मतलाई स्वीकार गर्दैनौँ’

पोखरा । स्याङजा क्षेत्र नम्बर २ मा कांग्रेसका धनराज गुरुङ विजयी भए । बुथ कब्जा गरेको आरोपमा एमाले लगायत दलले पुनः मतदानको माग गरिरहँदा निर्वाचन आयोगले पुनः मतदान नहुने निर्णय ग-यो । भारी मतान्तर सहित चुनाव जितेका धनराजलाई उनका प्रतिस्पर्धी एमालेकी पद्‍मा अर्यालले बधाई दिएकी छिन् ।

तर उनले बधाईसँगै व्यङ्ग्य बाँण पनि छेडिन् । ‘स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौँ भनेका थियौँ । साक्षीका रूपमा कयौँ प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो,’ उनले भनिन्, ‘मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो । हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौँ । तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौँ ।’

उनले आफूहरूको माग सुनुवाइ नभएको प्रति गुरुङलाई गुनासो गरिन् । लोकतन्त्रमा बुथ कब्जा मेल नखाने विषय भएको भन्दै अर्यालले राज्यबाट समेत आफ्नो मागको सुनवाइ नभएको बताइन् । उनले आगामी दिनमा लोकतन्त्र अपहरित नगर्न गुरुङलाई सुझाएकी छिन् ।

‘युवाहरूको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पु-याउन सक्नुहोस् । न की निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरूलाई दुरुपयोग गरी प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरी बुथ कब्जा गर्ने जस्तो दुष्कर्म गर्न नलगाउनुहोस्,’ उनले भनिन्, ‘मैले तपाईँलाई शालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रूपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईँप्रतिको मेरो बुझाइ झुटो प्रमाणित गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन । दर्जनौँ प्रमाणहरूले त्यही बताइरहेका छन् ।’

उनले अब जनताको सेवा गर्न आग्रह गरेकी छिन् । स्याङ्जाको विकास निर्माणमा सहकार्य गर्न आफू तयार रहेको र यसअघि काम थालनी भएका योजनालाई पूर्णता दिन आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *