माओवादी रणनीति : कांग्रेसलाई दबाबमा राख्ने, पहिला आफ्नो नेतृत्वमा सरकार बनाउने 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनमा सबै विकल्प खुला राखेपछि नेपाली कांग्रेसमा चस्का पसेको छ । सत्तारुढ गठबन्धन कायमै रहेको बेला सरकार गठनमा नयाँ विकल्पमा जान पनि सकिने माओवादी पदाधिकारीको बैठकले निर्णय गरेपछि कांग्रेसभित्र यस विषयले बढी चर्चा पाएको छ ।

माओवादी केन्द्रले सरकार गठनमा एमालेसँग पनि छलफल गर्ने निर्णय गरेको छ । अहिलेको निर्वाचनले माओवादी केन्द्रलाई तेस्रो निर्णायक शक्ति बनाएको छ । समानुपातिकसहित माओवादी केन्द्रले कम्तीमा ३० सिट ल्याउने पक्का छ, यद्यपि सबै क्षेत्रको गणना सकिएको छैन, समानुपातिकतर्फको मत पनि गन्न बाँकी छ । कुनै दलको पनि बहुमत नआएका कारण तेस्रो शक्ति बनेको माओवादी केन्द्र सरकार गठनमा निर्णायक भूमिका खेल्न सक्ने देखिन्छ ।

माओवादी केन्द्रले नयाँ सरकार गठनको लागि सबै विकल्प खुला राखेपछि नेकपा एमाले पनि सरकार गठनको लागि केही हौसिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ सरकार गठनको विषयमा केही बोलेका छैनन् भने दोस्रो तहका नेताहरू सबैलाई मिलाएर आफ्नो नेतृत्वमा सरकार बनाउन भित्रभित्रै संवाद गर्न थालेका छन् । एमालेका नेता विष्णु पौडेल, सुभाषचन्द्र नेम्वाङ, पृथ्वी सुब्बा गुरुङलगायतले माओवादी केन्द्रका नेतासँग एमालेको नेतृत्वमा नयाँ सरकार गठनको लागि छलफल गरेका स्रोतको भनाइ छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ सरकार गठनका लागि सबै दलसँग छलफल गरिनुलाई सकारात्मक रूपमा हेरिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘गठबन्धन तोड्ने कुनै निर्णय भएको छैन, बहुदलीय प्रणालीमा सरकार गठनमा जुनसुकै दलसँग छलफल गरिनुपर्छ भन्ने कुरा जायज हो, कुनै दलसँग छलफल नै गर्दैनौँ भन्नु त निषेध गरेजस्तो हुन्छ ।’ उनले नेताहरूको एमालेसँग पनि छलफल भइरहेको हुनसक्ने बताए । उनले भने, ‘लोकतन्त्रमा सबै दलसँग छलफल हुनुलाई अन्यथा मान्ने कुरै आउँदैन ।’

माओवादीले सरकार गठनमा सबै विकल्प खुला गरेपछि नेकपा एमाले पनि नयाँ सरकारको लागि अङ्कगणितको हिसाब गर्न थालेको छ । एमाले नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी हिजोको तिक्तता सबै बिर्सेर नयाँ शिराबाट अगाडि बढ्ने प्रस्ताव राखिसकेका छन् । यसमा प्रचण्ड पनि सकारात्मक भएको एमाले नेताहरूको भनाइ छ । यसबाट नेपाली कांग्रेस केही झस्केको छ ।

माओवादी केन्द्रले एमालेसँग पनि सरकार गठनको लागि विकल्प खुला गरेपछि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन नै गरेर जिज्ञासा राखेका थिए । प्रचण्डले खड्कासँग अहिलेको गठबन्धन नतोड्ने प्रतिबद्धता गरेका स्रोतको भनाइ छ ।

राजनीतिक विश्लेषकहरूले माओवादी अहिलेको गठबन्धन तोड्ने पक्षमा नभए पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्न चाहेको बताएका छन् । ‘अहिलेको चुनावले माओवादी केन्द्रलाई तेस्रो निर्णायक शक्ति बनाएको छ, सरकार गठनमा कसैको पनि बहुमत नपुग्ने अवस्थामा तेस्रो शक्ति नै बलियो हुन्छ, उसले धेरै भाग खोज्न सक्छ’ एक राजनीतिक विश्लेषकले भने, ‘माओवादीले सबै विकल्प खुला राख्ने निर्णय कांग्रेसलाई दबाबमा राख्न हो, आलोपालोको सर्त माओवादीले यसअघि कांग्रेस समक्ष राखिसकेको छ, यस्तो अवस्थामा माओवादीले सत्तागठबन्धनमा पहिला आफ्नो नेतृत्वमा सरकार निर्माण गर्न चाहेको देखिन्छ ।’

शनिबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गठबन्धनभित्रैबाट बहुमत पुर्‍याउन कोसिस गर्ने र सम्भव नभए अन्य विकल्पमा पनि खुला रहने निर्णय गर्नुलाई घुमाउरो तरिकाले हेर्दा माओवादी आफ्नो नेतृत्वमा पहिला सरकार बनाउन खोजेको देखिन्छ । माओवादीले कांग्रेसको नेतृत्वमा सरकारमा जाने र अहिलेको गठबन्धनलाई अघि बढाउने निर्णय गरिनसकेको हुनाले उसले यसपटक आफ्नो नेतृत्वमा सरकार बनाउन खोजेको विश्लेषण हुन थालेको छ ।

एक राजनीतिक विश्लेषकले यदि एमाले पहिला माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन तयार भयाे भने माओवादीले गठबन्धन तोड्न पनि सक्ने बताउँछन् । माओवादी बैठकले पनि यही संकेत गरेको देखिन्छ । प्रचण्ड तत्कालै जता पनि मोडिन सक्ने नेता भएका कारण कांग्रेसका नेताहरूमा चस्का पस्नु स्वाभाविक भएको कांग्रेस नेताहरू बताउँछन् ।

कांग्रेसभित्र प्रचण्डले एमालेसँग सरकार बनाउने प्रचार गरेर कांग्रेससँग बार्गेनिङ बढाउन चाहेको हुनसक्ने चर्चा यतिबेला चल्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *