बाजुरामा कांग्रेस कमब्याक : सहमहामन्त्री पाण्डे विजयी, ५४३७ मतान्तरले हारे कर्ण थापा

काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गरेहका हुन् ।

बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८६ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार ३४९ मत प्राप्त गरेका छन् । ०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ । ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन् ।

बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१ र ०७० र ०७४ एमालेले जितेको थियो । पाण्डेले २०४३ मा नेविसंघबाट राजनीति थालेका थिए । २०४७ मा वाल्मिकी क्याम्पसमा इकाई सदस्य र २०४९ मा इकाई सचिवमा निर्वाचित भएका थिए ।

२०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइको अध्यक्ष भए । २०५३ मा वाल्मिकीको स्ववियु र २०५४ मा स्ववियु परिषद्को सभापति बनेका थिए ।

पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य भए । २०५९ मा नेविसंघको उपाध्यक्ष भएका पाण्डे २०६४ को १० औँ महाधिवेशनमा प्रदीप पौडेलसँग पराजित भए । २०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते । २०७२ मा भएको १३ औँ महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०७० सालको संविधानसभाको चुनावमा उनी समानुपातिक तर्फबाट सांसद भए भने २०७४ उनी राष्ट्रियसभाको सदस्य निर्वाचित भएका थिए । उनी गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भए ।

यस्तै प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । थापा एमालेको तर्फबाट निवर्तमान संघीय सांसदसमेत हुन् ।

स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । ८३४ मत बदर भएको छ । प्रदेश सभा (क)१ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसकेका छन् । शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *