बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै, पछ्याउँदै एमालेका कर्णबहादुर

बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । बुधबार बेलुकी ६ः३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा काँग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गरे ।

प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त गरे । माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाए ।

प्रदेशसभा १ मा स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यसै गरी प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १० हजार नौ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले आठ हजार छ सय ४० मत प्राप्त गरे । एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभा सदस्य हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र उम्मेदवार जनक रावलले १६ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *