संकटमा माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले शुक्रबार वक्तव्य जारी गरेर नेकपा माओवादी केन्द्रसँग एकताको प्रचार गलत भएको जनाएका छन् । चुनावको अन्तिम नतिजा आउन अझै बाँकी रहेकाले पार्टी एकताबारे चलेको चर्चामा कुनै सत्यता नरहेको भुसालले प्रस्टोक्ति दिएका छन् ।

‘नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन’, भुसालले जारी गरेको वक्तव्यमा उल्लेख छ । भुसालले हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले समेत वक्तव्यमा लेखेका छन् ।तत्कालै

एकीकृत समाजवादीकै शीर्ष नेता मुकुन्द न्यौपानेले उक्त वक्तव्यको खण्डन गरे । माओवादी केन्द्रसँग एकता गर्नेबारे निर्णय भएको मिति नै सार्वजनिक गरे । गएको भदौ १ गते पार्टी एकता गर्नेगरी निर्णय भएको न्यौपानेले लेखेका छन् ।

‘…यत्रो कसरतपछि देशभरि कार्यकर्ताको विरोध देखेर हतार हतार विज्ञप्ति गरेर छोप्न खोज्नु कति सर्मको कुरा हो’ न्यौपानेले लेखेका छन्, ‘..खोले एक गल्ती, छोपे तीन गल्ती ।’ न्यौपानेले यसअघि पनि सार्वजनिक रूपमै माओवादी केन्द्रसँग एकताको सम्भावना नरहेको अडान राख्दै आएका थिए । तर पार्टी एकता गर्नेगरी एकीकृत समाजवादीले निर्णय गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका न्यौपानेले महासचिव भुसालको वक्तव्यको तत्कालै खण्डन गरेका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको प्रचार भने चुनावी नतिजा आइरहँदा अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि चलेको थियो । गएको सोमबार प्रचण्ड र माधव नेपालबीच भएको संवादमा एकता गरेर अगाडि बढ्ने छलफल भएको नेताहरूले बताएका थिए । त्यसैको खण्डन गर्न महासचिव भुसाल बाध्य हुनु र तत्कालै न्यौपानेले खण्डन गर्नुले एकीकृत समाजवादीभित्र रहेको मूल प्रवृत्तिकै संकेत गर्छ । किनकि एकीकृत समाजवादी स्थापनादेखि नै माओवादीसँग एकता हुने आशंका गरिँदै आएको थियो । तर पार्टीभित्र एउटा पङ्क्ति नै यो एकताप्रति सहमत छैनन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहितकै नेताहरू माओवादी केन्द्रसँग नभएर नेकपा एमालेसहितको एकताको पक्षमा छन् । स्थानीय चुनावपछि नै खनालले त्यस्तो संकेत दिएका थिए । तर आम चुनावमा एकीकृत समाजवादी नेपाली कांग्रेस नेतृत्वकै गठबन्धनमा बस्यो । चुनावी नतिजा भने एकीकृत समाजवादीले आशा गरेअनुसार आएन ।

गठबन्धनमा १९ सिट भागबण्डा पाएको एकीकृत समाजवादीले १० सिट जितेको छ । रुपन्देही–२ मा यो पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी नै खारेज भयो । बाँकी उम्मेदवारले जित्न सकेनन् । समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने सम्भावना न्यून छ । शुक्रबार रातिसम्म यो पार्टीले समानुपातिक तर्फ २.८३ प्रतिशत (अर्थात् २ लाख ९३ हजार मात्रै कटाएको छ । अर्थात् कुल सदरमतको ३ प्रतिशत बनाएर एकीकृत समाजवादी राष्ट्रिय दल बन्नेमा अनिश्चय नै छ ।

एमालेबाट अलग भएर गठित यो पार्टीलाई राष्ट्रिय बनाउनैपर्ने मुख्य दबाबमा अध्यक्ष माधव नेपाल छँदैछन् । अझ पार्टीभित्रै एकताबारे देखिएको भिन्न मतका कारण थप दबाब बढेको देखिन्छ । तर अहिलेसम्म माधव नेपाल आफैले भने ठोस् अभिव्यक्ति दिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *