बाजुरामा एमाले हराउन निर्वाचन आयोग सारथि बन्यो : कर्ण थापा

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले बाजुरामा एमालेलाई पराजित गर्न निर्वाचन आयोग सारथि बनेको आरोप लगाएका छ । मतगणनाका क्रममा मुचुल्कामा लेखिएको भन्दा बढी मतपत्र भेटिएपछि थापाले यस्तो आरोप लगाएका हुन् ।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा ४० मत बढी भेटिएपछि अहिले बाजुरामा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरिएको छ । मतदानको दिनदेखि नै धाँधली भएको भन्दै पुनः मतदानको माग गरेको एमालेले मत बढी भेटिनु त्यसको पुष्टि भएको बताएको छ ।

निर्वाचन आयोगले पुनः मतदानको मागलाई अस्वीकार गर्दै मतगणना गर्न भनेको थियो । ‘हामीले जे विषयमा उठाएका थियौँ, अहिले मतगणनामा क्रममा हिमाली गाउँपालिका ६ को बुथमा धाँधली पूर्ण तरिकाले अरू ठाउँबाट आएर गरिएको प्रमाणित भएको छ । नेकपा केन्द्रीय सदस्यसमेत रहेका थापाले भने, ‘यसको निकास नहुँदासम्म मतगणना स्थगित गरेका छौँ ।’

बाजुरा जिल्लामा जसरी पनि नेकपा एमालेलाई हराउन गरिएको षडयन्त्रको पुष्टि यो घटनाबाट भएको उनको भनाई छ । ‘निर्वाचन गैर कानुनी रहेछ भन्ने प्रमाणित भयो, हामी निर्वाचन बहिस्कार गर्दैनौँ तर, यसको जवाफ निर्वाचन आयोग र सरकारले दिनुपर्छ,’ नेता थापाले भने । उनकाअनुसार बाजुरा जिल्लाका धेरै बुथमा यस्तो भएको छ । अन्य केन्द्रमा पनि यही दोहोरिने उनको तर्क छ ।

हिजोदेखि सुरु भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता बनाएका छन् । गणना रोकिनुभन्दा अगाडिको नतिजाअनुसार पाण्डेले ५३९९ मत ल्याउँदा उनलाई पछ्याइरहेका थापाले ४१३० मत ल्याएका छन् । उनीहरूबीच १२६९ को मतान्तर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *