विश्वकप लिग टु : नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ ।

नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि यो पहिलो लिग टु खेल हुनेछ ।

विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डमा भएको थियो ।

त्यसबेला नेपालले नामिबिया विरुद्धको दुवै खेलमा हार व्यहोरेको थियो । त्यसैले ओडीआईमा नेपाल नामिबियाविरुद्ध पहिलो जितको खोजीमा छ । स्कटल्याण्डमा भएको शृंखलामा नेपाल नामिबियासँग पहिलो खेलमा ६३ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

यस्तै शृंखलाको पहिलो खेलमा बिहीबार नामिबिया स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ भने २० खेलबाट नेपालको १७ अंक छ र छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *