ज्ञानेन्द्र कार्की : दुर्भाग्य भोजपुर, सौभाग्य सुनसरी !

काठमाडौँ । यसपटकको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भएका छन्। नेपाली कांग्रेस शेरबहादुर देउवा समूहमा रहेका कार्की २०७४ सालको चुनावमा पनि सुनसरी ४ बाट विजयी भएका हुन् ।

त्यतिबेला उनी भारी मतले विजयी भएका थिए । अहिले जम्मा ११२ मतले विजयी भए । सुनसरीमा उनको साख थोरै घटेको देखिए पनि जित भने आफ्नो पोल्टामा पार्न सफल भए ।
कार्कीले २०७४ सालको चुनावमा सिंगो नेकपासँग लड्दा ६ हजार ९७ मतले जित निकालेका थिए । अहिले मुस्किलले थोरै मतले जित्न सफल भए । कार्की २०७४ सालभन्दा अघि भोजपुर जिल्लाबाट चुनाव लडेका थिए । भोजपुर उनको गृहजिल्ला पनि हो । जतिपटक भोजपुरबाट चुनाव लडे, त्यतिपटक नै उनले पराजय भोगे ।

दर्भाग्य नै भन्नुपर्छ, ज्ञानेन्द्र कार्कीलाई भोजपुरले हारको ह्याट्रिक चखायो । भोजपुरमा लगातार तीन पटकसम्मको चुनाव हारेपछि नेता कार्कीलाई लाग्यो अब भोजपुरले मलाई पत्याएन । अनि उनले आफ्नो क्षेत्र नै भोजपुरबाट सुनसरी सारे । सौभाग्य भन्नुपर्छ, सुनसरी ४ मा उनले दुई पटकसम्म जित हासिल गरिसकेका छन् ।

संयोग नै मान्नुपर्छ २०७४ सालमा चुनाव लड्दा पनि उनी सूचना तथा सञ्चारमन्त्री नै थिए, अहिले पनि सूचना तथा सञ्चार मन्त्री नै छन् । नेपाली कांग्रेसमा सालिन नेताको छबी बनाएका कार्की २०५१, २०५६ र २०६४ सालमा भोजपुरबाट चुनाव लडेका थिए, तीन वटा चुनावमा उनले हारको स्वाद पाए । उनको क्षेत्र त्यतिबेला भोजपुर १ थियो । भोजपुर १ मा उनी तीन पटकसम्म चिप्लिए ।

उनले भोजपुरमा कहिले एमालेसँग त कहिले माओवादी केन्द्रका नेतासँग पराजय भोगे । सुनसरी आएपछि उनलाई फलिफाप भयो । सुनसरीबाट चुनाव जितेपछि उनी मन्त्री भएका हुन् । कार्कीको लागि भोजपुर दुर्भाग्य र सुनसरी सौभाग्य भएको छ । हुन त भोजपुर उनको गृहजिल्ला हो, तर गृहजिल्लाले उनलाई तीन पटकसम्म हारको स्वाद चखाइदियो ।

२०५१ सालमा एमाले नेता हेमराज राईसँग, २०५६ सालमा एमालेकै उम्मेदवार घनेन्द्र बस्नेतसँग, २०६४ सालमा माओवादी पदम राईसँग कार्की पराजित भएका थिए ।
कार्कीले अहिले पनि सुनसरीबाट जितको स्वाद पाएका छन् । २०७४ सालमा कार्कीले ३२ हजार ३४७ मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उमेदवार रमेश श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए । कार्कीले अहिले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जयदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *