मधेसमा कसरी भयो एमाले ‘कमव्याक’ ?

काठमाडौँ । जतिबेला मधेसमा अधिकारका विषयलाई लिएर आन्दोलन चलेको थियो, त्यतिबेला नेकपा एमाले अध्यक्ष केपी ओलीका हरेक अभिव्यक्तिलाई मधेस विरोधीको ट्याग लाग्ने गरेको थियो । नेकपा एमाले मधेस विरोधी शक्ति हो भन्ने अनर्गल प्रचार मधेसका बस्तीबस्तीमा पुगेको थियो ।

मधेसका बासिन्दाको हकअधिकार खोस्ने पार्टी नै एमाले हो भन्ने भ्रम मधेसी जनताको कानकानमा सुनाइएको थियो, तर यसपटकको चुनावमा त्यही एमाले शक्ति मधेसमा पहिलो शक्ति भएर उदाएको छ । मधेसी जनतामा फिँजाइएका अनर्गल प्रचार र भ्रमहरूलाई चिर्दै एमाले मधेसमा ‘कमव्याक’ भएको छ ।

मुलुकमा बहुदल आएपछि मधेसमा कांग्रेस ठूलो शक्ति बनेको थियो । गिरिजाबाबु कोइरालाको समयसम्म मधेसमा कांग्रेसले अन्य कुनै शक्तिलाई पहिलो हुन दिएन । २०६२/६३ को आन्दोलनपछि मधेसमा अन्य पार्टीको जन्म भएपछि उनीहरूको वर्चस्व रहन थाल्यो ।

विभेदविरुद्ध अधिकारका लागि मधेस विद्रोह थालिएपछि यहाँका बासिन्दाले मधेसवादी दललाई साथ दिएपछि पहिलो शक्तिको रूपमा उदाइरहेको कांग्रेस पनि ‘आउट’ भयो । २०६४ र २०७० को चुनावमा मधेसमा मधेसवादी दल नै ठूला शक्तिको रूपमा उदाएका थिए ।

जब मधेसवादी दल नै सत्ता र शक्तिको लोभमा सरकारमा जाने र बाहिरिने, फुट्ने र जुट्ने हुन थालेपछि मधेसमा मधेसवादी दलहरू क्रमशः शक्तिहीन हुँदै आए । यसपटकको चुनावमा मधेसवादी दल भनेर चिनिएको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले नराम्रोसँग पराजय भोगेका छन् । मधेसका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवजस्ता नेताले पराजय भोगे ।

२०७४ का चुनावमा नेकपा एमालेले मधेसमा नराम्रोसँग हार खाएको थियो । त्यतिबेला मधेसमा एमालेले संघीय संसद्मा दुई सिटमात्र जितेको थियो । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बनेको थियो । कांग्रेस र नेकपा माओवादी केन्द्रले ‘मधेसमा एमाले सिद्धियो’ भन्दै आएका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ‘एमाले टच लाइट बालेर खोज्नुपर्ने अवस्थामा पुग्छ’ भन्थे ।

त्यही एमाले आज मधेसमा उदाउँदो शक्ति बनेर ‘कमव्याक’ भएको छ । यसपटकको चुनावमा एमाले मधेसका संघीय संसद्का ३२ सिटमध्ये ९ सिट जितेर पहिलो शक्ति बन्न सफल भएको छ । प्रदेशतर्फ ६४ सिटमध्ये १५ सिट एमालेले जितेको छ । मधेसमा एमालेको नेतृत्वमा सरकार बन्ने प्रशस्त सम्भावनाहरू देखिएका छन् ।

एमालेले सिरहा, धनुषा र बारामा २–२ सिट, महोत्तरी, सर्लाही र पर्सामा १–१ सिट जितेको छ । धनुषामा जुली महतो र रघुवीर महासेठ दम्पतीले नै विजय हासिल गरेका छन् । प्रदेश सांसदतर्फ सबैभन्दा धेरै बारा र धनुषामा ४–४, सिरहामा ३, महोत्तरीमा २, सप्तरी र रौतहटमा १–१ सिट एमालेले जितेको छ । माओवादीको किल्लादेखि कांग्रेसको गढसम्म यस पटक मधेसमा एमालेले भत्काइदिएको छ ।

स्थानीय तहको चुनावमा पनि एमाले मधेसमा प्रमुख शक्तिको रूपमा उदाएको थियो । त्यसबेलादेखि मधेसमा एमालेले थुप्रै होनाहार नेताहरू आफ्नो पार्टीमा प्रवेश गराएको थियो । एक समय थियो, जतिबेला एमालेका अध्यक्ष केपी ओलीमाथि मधेसमा करिबकरिब प्रतिबन्धजस्तो थियो । मधेसमा एमालेका नेताहरू जान सक्ने अवस्था नै थिएन । तर अहिले एकाएक मधेसी जनताले एमालेलाई साथ दिएपछि मधेसमा  एमाले ‘कमव्याक’ हुन सकेको छ ।

मधेस मामिलाका विश्लेषक विजय मिश्रका अनुसार मधेसका जनताको माग एमालेले सम्बोधन गर्छ भन्ने लाग्यो । मधेसी दलहरू एमालेको सरकारमा सहभागी भएपछि एमाले चाहिँदा रहेछ भन्ने मधेसी जनतामा पर्न गयो । यही बिचमा एमाले अध्यक्ष केपी ओलीले मधेसका ठूला नेताहरूलाई पार्टीमा भित्र्याउन सफल भए । भित्र्याइएका नेतालाई एमालेले टिकट पनि दियो । मधेसमा एमाले ठूलठूला सभाहरू आयोजना गर्न सफल भयो । यस्ता विविध कारणले एमाले मधेसमा ‘कमव्याक’ भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *