स्याङजा-२ को गणना अझै अन्योल, आयोगको निर्णय कुर्दै उम्मेदवार

पोखरा । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको गणना प्राय सबै ठाउँमा सकियो । गण्डकीका १७ प्रतिनिधि सभा र ३४ प्रदेश सभा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।

तर स्याङजा २ को गणना अझै अन्योल छ । एमाले लगायत केही दलले चापाकोटका बुथहरूमा गठबन्धनले कब्जा गरेर मरेका मान्छेको नाममा मत हालेको आरोप लगाएपछि गणना सुरु नै हुन पाएको छैन । एमालेले लगाएको आरोपपछि निर्वाचन आयोगका टोलीले स्थलगत अवलोकन गरेर फर्किएको छ ।

२ दिनसम्म अध्ययन गरेर टोली फर्किएको ३ दिन भइसक्यो । लगातार आयोगमा बैठक बसिरहेको छ । तर निर्णय आएको छैन । मतदान सकिएको १० दिन बितिसक्दा यहाँको मतगणना सुरु हुन नसक्दा उम्मेदवार अन्योलमा छन् ।

दुवै पक्षले अहिले पनि धर्ना गरिरहेका छन् । मतपेटिका वालिङ नगरपालिकामा राखिएको छ । कांग्रेसले बुथ कब्जा गरेर फर्जी मत हालेको आरोप एमालेको छ भने मतदान सकिएर विधि पूर्वक मतपेटिका संकलन गरेपछि अनावश्यक बखेडा झिकेको प्रतिआरोप कांग्रेसको छ ।

एमालेले निर्वाचन आयोगमा उजुरी नै दिएर पुनः मतदानको माग गरेको छ । कांग्रेस चाहिँ तुरुन्तै गणना गर्नुपर्ने माग सहित धर्नामा छ । त्यहाँका निर्वाचन अधिकृत रामचन्द्र शर्माले आयोगको निर्णय कुरेर बसको बताए । उनले आयोगले नै अन्तिम निर्णय गर्ने र त्यसपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *