कांग्रेसमा संसदीय दलको नेता को बन्ला ? देउवा-गगनमध्ये कसलाई कति सहज ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रधानमन्त्रीका लागि संसदीय दलको नेता बन्ने दौडमा छन् । देउवा र गगनमात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, अर्का नेता शशांक कोइराला पनि प्रधानमन्त्रीको दौडमा छन् ।

प्रधानमन्त्री दौडमा जानुभन्दा पहिला संसदीय दलको नेता हुनुपर्छ, त्यसपछि बल्ल प्रधानमन्त्रीको लागि त्यो नेताले प्रतिस्पर्धा गर्न सक्छ । अहिले नेपाली कांग्रेसका महामन्त्री गगनले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने बताइरहेका छन् । हाल कांग्रेसको संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवा हुन् । उनी अहिलेको प्रधानमन्त्री र सत्तारुढ गठबन्धनको प्रमुख नेता भएका कारण फेरि संसदीय दलको नेता बन्ने उनीनिकटस्थ नेताहरू बताउँछन् ।

प्रधानमन्त्री देउवा आफैँ संसदीय दलको नेता बन्छु र फेरि प्रधानमन्त्री हुन्छु भन्दै नहिँडे पनि उनी निकटका नेताहरू अब फेरि पनि गठबन्धनको सरकार बन्ने र देउवा नै प्रधानमन्त्री बन्ने बताइरहेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, अर्का नेता शशांक कोइरालालाई छोडेर कुरा गर्ने हो भने देउवा र गगनमध्ये संसदीय दलको नेता बन्न कसलाई बढी सहज होला ? संसदीय दलको नेता जो बन्छ, त्यो नै प्रधानमन्त्री बन्ने निश्चितप्रायः रहेको छ ।

अहिलेको चुनावमा कांग्रेसबाट निर्वाचित हुने सांसदमा देउवा समूहका नै धेरै छन्, तर देउवाका कोर टिमका हस्तीहरू नै पराजित भएका बेला उनलाई पनि संसदीय दलको नेता बन्न त्यति सहज नभएको टिप्पणी हुन थालेको छ ।

देउवा समूहका विश्वासपात्र मानिएका बालकृष्ण खाँड रुपन्देहीमा पराजित भएका छन् । गृहजिल्ला रुपन्देही ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले हराएका हुन् । बोहराले ३६ हजार ७१७ मत ल्याउँदा खाँडले ३४ हजार ३६ मत पाए।

यस्तै, देउवा समूहको कोर टिममा रहेका विजयकुमार गच्छदारले पनि सुनसरी ३ मा पराजय भोगे । २०४८ सालयताका ६ वटा निर्वाचनमा नेपाली काँग्रेसका विजयकुमार गच्छदार पराजित भएका थिएनन् । देउवाका अति प्रिय नेता गच्छदारले यसपटक हारको स्वाद चाखेका छन् ।

२०४८, २०५१, २०५६ र २०७४ मा चारवटा निर्वाचन नेपाली कांग्रेसबाट उनले जिते भने २०७० र २०६४ मा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट जितेका गच्छदार १८ पटक मन्त्री बनेका नेता हुन् । उनै देउवाका विश्वासपात्र गच्छदार यसपटक पछारिए ।

यस्तै देउवाका अर्का विश्वासपात्र देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम २ मा राप्रपा उम्मेदवार ध्रुवबहादुर प्रधानसँग पराजित भए छन्। देउवाका अर्का विश्वासपात्र मानिने ज्ञानेन्द्र कार्कीको जित निश्चित भइसकेको छैन । सुनसरीमा थोरै मतलेमा मात्र अगाडि छन् ।

यसरी देउवाका विश्वासपात्रहरूले हार व्यहोर्दा उनलाई संसदीय दलको नेता बन्न केही सकस देखिन्छ । तथापि बहुमत नै नपुग्ने गरी देउवा निकटस्थहरूको हार भने भइसकेको छैन । देउवासँग संसदीय दलको नेता बन्नको लागि पुग्ने सांसद पुग्दो देखिन्छ ।

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेतामा लड्छु भनिरहँदा उनीसँग पर्याप्त बहुमत देखिँदैन । कांग्रेस सांसदहरूको गुटगत अंकगणितलाई हेर्ने हो भने देउवा समक्ष उनी कमजोर देखिन्छन् । संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने कांग्रेस विधानमा उल्लेख छ । प्रधानमन्त्रीको दौडमा रामचन्द्र पौडेलदेखि शंशाक कोइरालासम्म भएका कारण सर्वसम्मत संसदीय दलको नेता छान्न कांग्रेसमा सकस हुने देखिएको छ ।

सर्वसम्मत नेतृत्व चयन हुन नसके संसदीय दलमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति दलको नेता हुनेछ । यस्तो अवस्था सिर्जना भयो भने देउवाको बहुमत पुग्ने सम्भावना देखिन्छ । किनकि उनकै समूहका सांसद बढीमात्रामा निर्वाचित भएका छन् ।

देउवानिकटका एक नेताका अनुसार फेरि पनि संसदीय दलको नेता र प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने बताए । ती नेताले भने, ‘उहाँले नै अब अर्को पुस्तालाई प्रधानमन्त्री छोड्छु भन्नुभयो भने संसदीय दलको नेतामा उठ्नुहुँदैन, तर यस्तो म देख्दिनँ । संसदीय दलको नेता बन्न उहाँसँग स्पष्ट बहुमत छ ।’
समानुपातिकतर्फको निर्वाचित हुनेको सुची हेर्ने हो भने पनि देउवासँग स्पष्ट बहुमत छ । यता संस्थापन इतर पक्ष (गगन र शेखर) को तुलनामा देउवा पक्षमा स्पष्ट बहुमत भएका कारण देउवालाई संसदीय दलको नेता बन्न सहज हुने देखिन्छ ।

तर अर्का कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा देउवा पक्षबाट नै महाधिवेशनमा निर्वाचित भएका हुन् । उनले गगन थापालाई प्रधानमन्त्री बनाउन आफू लाग्ने अभिव्यक्ति दिइरहेका छन् । उनी भन्छन्, ‘गगन थापालाई संसदीय दलको नेता चुन्दै प्रधानमन्त्रीसम्म बनाउन सबैलाई मिलाउन बाँकी छ, यसमा म लाग्नेछु ।’

थापालाई संसदीय दलको नेता चुन्न बहुमतको हिसाबले त्यति सहज नभए पनि यसमा सभापति देउवा नै विश्वप्रकाशलगायतका युवा नेताको पहलमा सकारात्मक भए भने गगनको अवस्था सहज हुने पनि देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *