मेयर-उपमेयर नर्भिकमा : सोधे- ‘छोटो अवधिमै ३४ घाइतेको उपचार कसरी सम्भव भो ?’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगेका छन् ।

थापाथलीको सुकुम्वासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डङ्गोल छुट्टा छुट्टै समयमा नर्भिक पुगेका हुन् ।

सुरुमा साँझ करिब ७ः४० बजेतिर पुगेका बालेन्द्र शाहले त्यहाँ उपचाररत घाइतेहरूको अवस्थाको विषयमा चिकित्सकसँग ब्रिफिङ लिएका थिए । सो क्रममा नर्भिक अस्पतालका इमरजेन्सी इन्चार्ज तथा डेपुटी मेडिकल डाइरेक्टर डा. ओमर प्रधानले घाइतेमध्ये ३ जनाको टाउकोमा गहिरो चोट रहेका कारण अब्जरभेसनमा राखिएको बताएका थिए ।

नर्भिकले ३४ जना घाइतेहरूको छोटो अवधिमै उपचार व्यवस्थापन कसरी मिलाउनुभयो भनेर बालेनले डा. प्रधानसँग चासो राखेका थिए । उनले नर्भिकको इमरजेन्सीको मूल विशेषता भनेकै आकस्मिक अवस्थामा घाइते तथा बिरामीहरूको सही व्यवस्थापन गर्ने रहेको, घाइतेहरूको अवस्थाको आधारमा रेड, ग्रीन र एल्लो जोनमा उनीहरूलाई राखेर सोहीअनुसारको उपचार प्राथमिकतामा आधारमा दिइने गरिएको र पनि त्यसै गरिएका कारण ३ घण्टाको अवधिमा ३४ जनामध्ये ३१ घाइतेलाई उपचार गरी घर फर्काउन सम्भव भएको बताएका थिए ।

मेयर शाहले नर्भिकमा गम्भीर चोट लागेर उपचार गराइरहेका आफ्ना ३ नगरप्रहरी र उनका परिवारजनसँग पनि स्वास्थ्य अवस्थाको विषयमा कुराकानी गरेका थिए । करिब ३ मिनेट जति अस्पताल बसेर मेयर शाह फर्किएका थिए ।

उनी फर्किएको केहीबेरमै उपमेयर सुनिता डङ्गोल पनि अस्पताल पुगेकी थिइन् । उनले पनि नगर प्रहरीको स्वास्थ्य अवस्थाको विषयमा बुझेकी थिइन् । सो क्रममा उनले नर्भिकको उपचार पद्धति तथा आकस्मिक अवस्थामा गरेको कुशल व्यवस्थापनको खुलेरै प्रशंसा गरेकी थिइन् । उनले सो क्रममा नर्भिकको टिमलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *