चुनाव हारेपछि नियमित सेवामा फर्किए डाक्टर भोजराज अधिकारी

चितवन । चितवन ३ मा प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि चिकित्सक भोजराज अधिकारीले नियमित बिरामी परीक्षण सुरु गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अधिकारी पुनः सेवामा फर्किएका हुन् ।

उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए । ‘अब म नियमित काममा फर्किएको छु’, उनले भने, ‘स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने मेरो योजना छ ।’ पराजित भए पनि निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको ‘जनतासँग अस्पताल’ कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

गाउँगाउँमा गएर उपचार नपाएकालाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउनेलगायतका कार्य गर्ने योजना अधिकारीको छ । ‘विशेषज्ञसहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु’, उनले भने । यसैगरी मधुमेह, उच्च रक्तचापलगायतका रोगको पहिचान अभियानका रूपमा गराउने उनले बताए ।

क्यान्सर, मुटुरोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा जानकारी गराउने काम अभियानमा रहने र पिउने पानी, स्वच्छ वातावरणलगायतका बारेमा जनचेतना जगाउँदै धुमपान र मद्यपानविरोधी अभियान सञ्चालन गर्ने उनले बताए । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *