गण्डकीमा घट्यो कांग्रेस–एमालेको भोट, राप्रपाले बढायो ३ गुणा

पोखरा । २०७४ को निर्वाचनमा गण्डकी प्रदेश सभाका लागि एमालेले ३ लाख ७३ हजार मत पाएको थियो । कांग्रेसले ३ लाख ६४ हजार मत पायो । सोही मतका आधारमा एमालेले १० र कांग्रेसले ९ सीट बाँडे । अहिले मतदाता बढेका छन् । मत पहिलेकै हाराहारीमा खसेको छ । तर एमाले र कांग्रेस दुवै पार्टीको मत खस्किएको छ ।

कांग्रेस–एमाले मात्रै होइन, जनमोर्चाले पनि घटायो । स्याङजा २ को मतगणना बाँकी छ । अहिलेसम्मको अवस्था हेर्दा प्रमुख दुई पार्टीले पुरानो मत कायम गर्ने सम्भावना लगभग टरेको छ । एमालेले अघिल्लो चुनाव भन्दा करिव ६२ हजार मत गुमाएको छ भने कांग्रेसले हालसम्म ७६ हजार मत गुमाएको छ ।

५ वर्षअघिको मत र अहिलेको मत हेर्दा दुवै पार्टीले निकै धेरै मत गुमाएका छन् । अघिल्लो चुनावमा एमाले भन्दा ९ हजार मात्रै कम मत पाएको कांग्रेस अहिले २५ हजार मत पछाडी छ । माओवादीले भने आफ्नो मत सुरक्षित गरेको छ । गत चुनावमा १ लाख १९ हजार मत पाएको माओवादीले अहिले १ लाख १२ हजार मत पाइसकेको छ । अझै गणना बाँकी रहेको क्षेत्रको भोट गन्दा यसमा थपिने पक्का छ ।

राप्रपाले भने अघिल्लो चुनावमा भन्दा तीन गुणा मत बढाएको छ । २०७४ मा १५ हजार मत पाएको राप्रपाले यो चुनावको हालसम्म ५४ हजार मत कटाइसकेको छ । गत चुनावमा १९ हजार मत पाएको जनमोर्चा र २४ हजार मत पाएको नयाँ शक्तिले १/१ सीट समानुपातिक पाएका थिए । सातौँ नम्बरमा रहेको राप्रपा अहिले चौंथोमा पुगेको छ, त्यो पनि राम्रो मत सहित । हालसम्मको गणनाबाट राप्रपा संसद छिर्ने पक्का भैसकेको छ । तर कति सीट भन्ने टुंगो लागेको छैन । अघिल्लो चुनावको तुलना गर्दा राप्रपाले २ सीट पाउने देखिन्छ । एमाले १०, कांग्रेस ९ र माओवादी तीनै सीटमा खुम्चिने अवस्था रहन्छ । माओवादी ३ सीटमा झरे त्यसको फाइदा राप्रपालाई हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *