गण्डकी प्रदेश : उही क्षेत्र, उही अनुहार

पोखरा । गण्डकी प्रदेश सभामा २०७४ बाट निर्वाचित ४ सांसद पुनः दोहोरिएका छन् । कास्की २ (ख) बाट कांग्रेसका विन्दुकुमार थापा, तनहुँ १ (ख) बाट माओवादीका हरिबहादुर चुमान, नवलपुर १ (ख) बाट एमालेका रोशन गाहा थापा र मनाङ (ख) बाट स्वतन्त्र राजीव गुरुङ उर्फ दीपक मनाङेलाई अहिलेको संसद्मा पनि देख्न पाइने छ । उनीहरू सबैले पहिलेकै निर्वाचन क्षेत्रबाट चुनाव जितेका हुन् ।

एमालेले स्याङ्जा २ (क) मा पुरानै अनुहार मोहन रेग्मीलाई दोहोर्‍याएको थियो । त्यहाँ अहिलेसम्म गणना सुरु भएको छैन । कास्की ३ (ख) मा दोहोरिन चाहेका राजीव पहारी पराजित भए । मुस्ताङ (क) बाट इन्द्रधारा विष्ट र (ख) बाट चन्द्र मोहन गौचन दोहोरिन खोजेका थिए ।

तनहुँ १ (क) बाट दोस्रो पटक संसद् छिर्ने दाउमा रहेका एमालेकै नेता थिए, रामबहादुर गुरुङ । कास्की २ (ख) मा एमालेकै समानुपातिक सांसद मीना गुरुङ प्रत्यक्षमा प्रतिस्पर्धा गरेकी थिइन् । उनीहरू पनि पराजित भएका छन् । माओवादीले कास्की १ (क) मा पुरानै अनुहारलाई टिकट दियो । दीपक कोइराला पराजित भए । राष्ट्रिय जनमोर्चाले बागलुङकी पियारी थापालाई दोस्रो पटक समानुपातिक सूचीमा राखेको छ । तर जनमोर्चाले यहाँ एक सिट पनि नजित्ने देखिएको छ ।

अहिलेसम्म घोषणा भएका ३० सिटमा भने सबै नयाँ अनुहार आएका छन् । बाँकी समानुपातिक सांसद पनि नयाँ अनुहारकै आउने पक्का छ । गण्डकीमा कांग्रेस १६, एमालेले १२, माओवादीले ५ जितेका छन् भने एकजनाले स्वतन्त्र रूपमा जितेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *