परिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने, संविधानमा के छ सरकार बन्ने प्रावधान ?

काठमाडौँ । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै नेकपा एमाले ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात-सात, जनता समाजवादी पार्टी नेपालले छ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् ।

बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन । बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राससलाई जानकारी दिए ।

हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने उनले बताए । बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ । अन्तिम मतपरिणाम प्राप्त भएपछि त्यसको सम्पूर्ण विवरण आयोगले राष्ट्रपतिलाई बुझाउने कानुनी प्रावधान छ ।

संविधानमा के छ, सरकार बन्ने प्रावधान

नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ । प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको हालसम्मको मतपरिणाम हेर्दा कुनै पनि दलको बहुमत नआउने स्पष्ट छ । प्रतिनिधिसभाको कूल दुई सय ७५ सिटमध्ये बहुमत ल्याउन एक सय ३८ सिट ल्याउनुपर्छ ।

सोही धाराको उपधारा २ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

त्यस्तै उपधारा ३ मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

उपधारा ४ मा उपधारा २ वा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । उपधारा ५मा उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा २ बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

उपधारा ६ मा उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्नेछ । त्यस्तै उपाधारा ७मा उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।

उपधारा ८ मा संविधानबमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =