सुनसरीको गणना सुचारु गर्ने सर्वदलीय बैठक, मतगणनामा धाँधली भएको आरोप

काठमाडौँ । सुनसरीको गणना सुचारु गर्ने सर्वदलीय बैठक बसिरहेको छ । सुनसरीको क्षेत्र नम्बर ४ मा शनिबार साँझबाट स्थगित मतगणना सुचारू गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरू भएको हो ।
नेपाली कांग्रेसले ६ सय मतगणनामा तलमाथि भएको दाबी गर्दै फेरि त्यसलाई गन्नुपर्ने अडान लिएको थियो। यो विवाद बढ्दै गएपछि मतगणनास्थलमै कांग्रेस र नेकपा एमालेका प्रतिनिधिहरुबीच हात हालाहाल समेत गरेका थिए ।
एमाले उम्मेदवार जगदीश कुसियैतसँग अघिपछि अघिपछि हुन थालेको अवस्थामा कार्कीले ६ सय मत तलमाथि भएको बताएका थिए। मतगणनामा धाँधली भएको उनको आरोप छ ।
बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख, उम्मेदवारहरू सहभागी छन् । यहाँ एमालेका उम्मेद्वार जगदिश कुसियत र गठबन्धनबाट कांग्रेसका उम्मेदवार सञ्चारमन्त्रीबीच प्रतिस्पर्धा छ । शनिबार साँझको अपडेट अनुसार यहाँ कार्कीले झिनो मतले लिड गरेका छन् ।
कांग्रेसले पकड मानेको क्षेत्रबाट अपेक्षित मत नखसेपछि कार्कीले धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा पुन मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो ।
एमाले नेताहरूले भने गणना सकिएको मतलाई कायम गरेर मतगणनालाई निरन्तरता दिनुपर्ने बताएका छन् । गणनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो मात्रामा परिचालन गरिएको छ ।








