सत्ता गठबन्धन भत्किने परिदृष्य, नयाँ सरकार बनाउन कांग्रेसले थाल्यो छलफल

काठमाडौँ । निर्वाचनको परिणामसँगै अहिलेको सत्तागठबन्धन दिगोरुपमा अगाडि नबढ्ने परिदृष्यहरु देखिएका छन् । अहिलेको सत्तागठबन्धनको बहुमत नआउने संकेत देखिएपछि यो गठबन्धन धर्मराउन थालेको छ ।

विशेषगरी नेकपा माओवादी केन्द्रले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि सत्ता गठबन्धनलाई अगाडि बढाउन नसकिने धारणाहरु सार्वजनिक हुन थालेका छन् । निर्वाचनको नतिजा आउने क्रम जारी छ, तर पनि अहिलेको परिणामलाई हेर्दा माओवादी केन्द्र सन्तुष्ट छैन । २०७४ सालमा ५३ सिट ल्याएको माओवादी केन्द्रले यो समाचार तयार पार्दासम्म प्रत्यक्षमा जम्मा १६ सिट जितेको छ । समानुपातिकको मतको हिसाब गर्दा पनि नेकपा माओवादी केन्द्र ३० सिटभन्दा तल हुने देखिन्छ ।

माओवादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार कांग्रेसका मतदाताले माओवादी केन्द्रका उमेदवारलाई सोचेको आधारमा मत हालेनन् । ती नेताले भने, ‘माओवादीको मतले कांग्रेस विजयी भयो, तर कांग्रेसले माओवादीका उमेदवारलाई भोट नहालेको पाइयो, जसले गर्दा माओवादी केन्द्रले सोचेको आधारमा निकै कम सिटमा विजयी हासिल गरेको छ ।’

ती नेताले सत्ता गठबन्धनको बहुमत नआउने संकेत परिणामले देखाइरहेको बताए । उनले भने, ‘अहिलेको गठबन्धनको बहुमत आएको छैन, बहुमत नै नआएको कारण भोलि सरकार गठनमा गठबन्धन फेरबदल हुन सक्ने देखिन्छ ।

सत्ता गठबन्धनले स्पष्ट बहुमत ल्याउँछ कि ल्याउँदैन भन्ने तस्वीर अझै प्रष्ट भइसकेको त छैन, तर सम्भावना क्षीण हुँदै गइरहेको छ । अहिलेको निर्वाचनले नेपाली कांग्रेसलाई ठूलो दल बनाउन लगभग पक्काजस्तो छ । समानुपातिक मतमा एमाले अगाडि भए पनि प्रत्यक्ष सिटमा कांग्रेस एमालेभन्दा १२ सिट माथि छ ।

यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले प्रत्यक्षमा ५० र एमालेले ३८ सिटमा जित हासिल गरेको छ । समानुपातिकको मतको सहित हिसाब गर्दा नेपाली कांग्रेसले ९० को हाराहारीमा सिट ल्याउने देखिन्छ । नेकपा एमालेले समानुपातिकसहितको हिसाब गर्दा ८० को हाराहारीमा सिट आउँछ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको अहिलेको गठबन्धनको बहुमत नपुग्ने देखिएको हुनाले यो गठबन्धन दिगो नहुने अड्कलहरु गर्न थालिएको छ । नेपाली कांग्रेस ठूलो दल बन्ने लगभग पक्काजस्तो भएका कारण सरकार गठनमा कांग्रेसले छलफल थालिसकेको छ ।

निर्वाचनअघि एमालेले आफ्नो नेतृत्वमा बहुमतको सरकार बन्ने दाबी गरे पनि निर्वाचन परिणामले उसलाई दोस्रो ठूलो दल बनाउन देखिन्छ । त्यसकारण पहिलो दलको हैसियतले सरकार गठनमा कांग्रेसले पहल गर्दै छलफल थालेको छ ।

कांग्रेसबाट धोका भएको भन्दै माओवादी केन्द्र कांग्रेससँग छलफल अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा कुनै निर्णय गरिसकेका छैन । अहिलेको परिणामले माओवादी कांग्रेससँग रुष्ट नै बनेको छ ।

अब सरकार कसको बन्ला भन्ने अन्योल यथावत् छ, अन्योलबीच पनि नयाँ सरकार बनाउन जोड–घटाउ, हिसाबकिताब र दौडधुप कांग्रेसले सुरु गरिसकेको स्रोतको भनाइ छ । निर्वाचनको पूर्ण नतिजा नआउँदै कांग्रेसले राप्रपासँग मिलेर जाने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित हुने १६५ र समानुपातिकतर्फ ११० सदस्य गरी २७५ सदस्य रहन्छन्। सरकार गठन गर्न १३८ सदस्य आवश्यक पर्छन्। अहिलेको गठबन्धनको १३८ सिट नआउने देखेपछि कांग्रेसले राप्रपासँग छलफल गरिरहेको छ । एमालेसँग चुनावी तालमेल गरेका कारण राप्रपा कांग्रेससँग सरकारमा गइहाल्न गाह्रो छ ।

यो बीचमा एमालेको अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोन वार्ता भएको छ । ओलीले तिक्तता बिर्सेर मिलेर जाने प्रस्ताव प्रचण्डसमक्ष राखेका छन् । प्रचण्डले नतिजा आउनेक्रम रहेको हुनाले केही समय कुर्नको लागि ओलीलाई आग्रह गरेका छन् । प्रचण्ड र ओलीको संवादलाई लिएर कांग्रेस थर्थराएको छ । जसका कारण कांग्रेस राप्रपा र स्वतन्त्र पार्टीसँग संवाद अघि बढाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट एक कांग्रेस नेताका अनुसार वर्तमान सत्ता गठबन्धनको बहुमत आए यही गठबन्धन अघि बढ्नेछ । ती नेताले भने, ‘तर गठबन्धनको बहुमत नआए अरु दलसँग छलफल गरेर अघि बढ्नुपर्छ । कांग्रेस पहिलो दल बन्ने भएकाले सरकार गठनमा छलफल चलाउने दायित्व उसको हुन्छ, अहिले विभिन्न दलसँग सरकारको गठनको लागि सामान्य छलफल भएका छन् ।’

देउवा निकटका नेताहरुका अनुसार बहुमत आए पनि माओवादीले धोका दिएको अवस्थामा अन्य दल राप्रपा, रास्वपासँग छलफल कांग्रेसले अघि बढाउँछ, अहिले फोनमा सभापतिले सबै दलसँग विकल्प राखेर छलफल चलारहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *