गण्डकीको सत्ता बागडोर: माओवादी निर्णायक, केन्द्रीय राजनीतिको भर

पोखरा । ३६ मध्ये ३४ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा प्रत्यक्ष तर्फ कांग्रेस पहिलो पार्टी बनेको छ । १६ सिटमा जित निकाल्दै कांग्रेसले अग्रता लिँदा १२ सिट सहित एमाले दोस्रो स्थानमा छ । माओवादीको ५ सिट आएको छ भने एक सांसद स्वतन्त्र रूपमा जितेका हुन् ।

समानुपातिक तर्फ भने एमाले पहिलो बनेको छ । हालसम्मको गणनामा एमालेले २ लाख ९१ हजार मत ल्याएको छ भने कांग्रेसले २ लाख ६८ हजार मत सहित दोस्रो स्थान सुरक्षित गरेको छ । माओवादीको समानुपातिकमा अपेक्षित मत यसपालि पनि आएन । माओवादीले १ लाख ७ हजार मत पुर्‍याएको छ ।

गण्डकीमा यसपालि फरक समीकरण बन्ने सम्भावना छ । अघिल्लो चुनावमा नयाँ शक्ति र जनमोर्चाले १/१ समानुपातिक सिट जितेकोमा अहिले जनमोर्चाले समानुपातिक सिट पाउने सम्भावना लगभग गुमाएको छ । नयाँ शक्ति पार्टी अहिले छैन । त्यसको फाइदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको छ ।

आगामी संसद्मा राप्रपाको १ जना समानुपातिक सिट हुने लगभग पक्का छ । राप्रपाले हालसम्म ५१ हजार मत कटाएको छ । हाम्रो नेपाली पार्टीले १६ हजार मत सहित पाँचौँ स्थान ओगटेको छ भने जनमोर्चाले जम्मा १४ हजार मत ल्याएको छ । निकै आस गरिएको एकीकृत समाजवादीले १३ हजार मत पाएको छ ।

प्राप्त मतका आधारमा प्रत्यक्ष र समानुपातिक सहित जोड्दा पनि कुनै दलले एकल बहुमत ल्याउने सम्भावना अव छैन । यद्यपि कांग्रेस पहिलो र एमाले दोस्रो तथा माओवादी तेस्रो शक्ति हुनेमा शंका गर्नु पर्दैन । यसरी हेर्दा एउटै दलले सरकार बनाउने सम्भावना गण्डकीमा छैन । मतको विश्लेषण गर्दा यसपालि पनि माओवादी सत्ता समीकरणको प्रमुख घटक हुने देखिएको छ । माओवादी कांग्रेस र एमाले मध्ये जोसँग मिले पनि सरकार बन्न सक्छ ।

यद्यपि समानुपातिक नतिजा बाँकी छ । नतिजा आउन बाँकी रहेको स्याङ्जाका दुईमध्ये एकमा एमालेले जित्ने दाबी गरेको छ । कांग्रेसले भने दुवै सिट जित्ने दाबी गरेको छ । १÷१ सिट कांग्रेस र एमालेले जिते प्रत्यक्ष तर्फ कांग्रेसको १७ र एमालेको १३ सिट हुने छ । समानुपातिकमा एमालेले १० तथा कांग्रेसले ९ सिट जित्ने सम्भावना छ । माओवादीको ४ सिट हुन सक्छ । यसरी हिसाब गर्दा कांग्रेस समग्रमा २६ देखि २७, एमाले २२ देखि २३, माओवादी ८ देखि ९ र राप्रपाको १ सिट हुन्छ । एमालेले २२ सिट र माओवादीले ८ सिट पाए दुई पार्टीको सरकार बन्दैन । यहाँ सरकार बनाउन ३१ सिट चाहिन्छ । त्यसो हुँदा एमाले गठबन्धनमै रहेको राप्रपाले एमालेलाई सघाउन सक्छ ।

विकल्प १ः कांग्रेस-माओवादी
कांग्रेस र माओवादी मिल्दा सहजै सरकार बन्छ, गण्डकीमा । कांग्रेसले जित्ने न्यूनतम २७ र अधिकतम २८ सिटमा माओवादीको न्यूनतम ८ र अधिकतम ९ सिट मिलाउँदा न्यूनतम ३५ सिट हुन्छ भने अधिकतम ३७ सिट हुन्छ । दुई पार्टी मिल्दा अरूलाई गुहार माग्नुपर्ने अवस्था रहँदैन ।

विकल्प २ः एमाले-माओवादी
दोस्रो विकल्प एमाले र माओवादीको सरकार हो । तर यसका लागि राष्ट्रिय राजनीतिको समीकरण फेरिनु पर्छ । यद्यपि यसमा पनि आकलन हुन थालेको छ । दुई पार्टी मिल्दा राप्रपा र स्वतन्त्र सांसद पनि एकैतिर हुने सम्भावना छ । त्यसो हुँदा कांग्रेस प्रतिपक्षमा रहन्छ ।

विकल्प ३ः कांग्रेस-एमाले
माओवादी र अन्यलाई प्रतिपक्षमा राख्दा सरकार २ तिहाइको हुन्छ । प्रतिपक्ष निकै कमजोर बन्छ । कांग्रेस र एमालेको समीकरण बन्न निकै कठिन छ । तथापि छलफलमा चर्चा हुने गरेको दुई पार्टीको मिलन पनि हो । यदि कांग्रेस र एमालेको मिलन नभए गण्डकीमा प्रतिपक्षी भने निकै बलियो हुने देखिन्छ । जसले अघिल्लो संसद् जस्तो निरीह हुँदैन ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण गण्डकीमा कांग्रेसले प्रत्यक्षमा ६ सिट मात्रै जितेको थियो समानुपातिक ९ जोडेर १५ सिट पुगेको हो । एमाले १७ प्रत्यक्ष र १० समानुपातिक सहित २७ सिटमा थियो । माओवादी ९ प्रत्यक्ष र ३ समानुपातिक सहित १२ तथा जनमोर्चा २ प्रत्यक्ष र १ समानुपातिक सहित ३, तत्कालीन नयाँ शक्ति १ प्रत्यक्ष र १ समानुपातिक सहित २ सिटमा थियो । एक सिट पहिले पनि स्वतन्त्रले जितेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *