६ भाेटले हारे राना, गण्डकीमा कांग्रेसलाई ‘अनलक’

पोखरा । २०७४ को निर्वाचनमा तनहुँ २ (क) बाट माओवादीकी आशा कोइराला ५ मतले चुनाव जित्दा कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेल संसद छिर्न पाएनन् । आसा गरिएकै नेता निर्वाचित नहुँदा गण्डकीमा कांग्रेसको उपस्थिति निकै कमजोर भयो । न प्रतिपक्षमा राम्रो भूमिका खेल्यो, न त सरकारको नेतृत्व प्रभावकारी भयो ।

अहिले उस्तै परिस्थिति दोहोरिएको छ । स्याङजाबाट बुद्धीबहादुर राना (कुमार) ६ भोट अन्तरले पराजित भएका छन् । बौद्धिक नेताको छवी बनाएका कुमारको पराजयले कांग्रेस गण्डकीलाई संख्यात्मक घाटा मात्रै भएको छैन, सरकार बनाउने बलियो सम्भावनामा ठेस लागेको छ । उनी स्याङजा १ (ख) बाट एमालेका सुधिर पौडेलसँग पराजित भएका हुन् ।

सुधिरले १७ हजार ४ सय ४१ मत ल्याउँदा कुमारले १७ हजार ४ सय ३५ कटाउन सकेनन् । राना सबैभन्दा कम मतान्तरले पराजीत हुने यो चुनावको सम्भवतः पहिलो सांसद हुन् । कांग्रेसले यहाँ हालसम्म १६ सीट जितिसकेको छ । रानाको जितबाट सांसद संख्या १७ पुर्याउने सपना देखेको कांग्रेसलाई ठेस लागेको छ । एमालेका १२ सीटमा प्रत्यक्ष चुनाव जितेको छ ।

प्रदेशका ३६ निर्वाचन क्षेत्र मध्ये ३४ सीटको टुंगो लागेको छ । कांग्रेस १६, एमाले १२, माओवादी ५ सीटमा चुनाव जित्दा एक सीट स्वतन्त्रले जितेका छन् । स्याङजा २ का २ वटा प्रदेश सभा क्षेत्रको गणना अझै सुरु भएको छैन । अन्य क्षेत्रमा अहिले समानुपातिक गणना चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *