चितवनमा किन चिप्लिए कांग्रेस–एमाले र माओवादी ?

काठमाडौँ । चितवन जिल्लामा यसपटकको निर्वाचनले नेपाल कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई साँघुरो घेरामा पारिदिएको छ । चितवनमा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ६ वटा सिट रहेका छन् । प्रदेश र प्रतिनिधि गरी ९ सिट रहेको चितवनमा विगतका चुनावको तुलनामा यसपटक कांग्रेस र एमाले खुम्चेको छ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी फुकेको छन् ।

जन्मिएको पाँच महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा रहेको प्रतिनिधि सभाको तीन सिटमध्ये दुई सिटमा जित हासिल गरेको छ । चितवनमा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो बन्यो । आखिरी ठूला दल भनेका कांग्रेस र एमालेले नै चिप्लेका छन् । चितवन क्षेत्र नं १ लाई नेकपा एमालेको गढ मानिन्थ्यो । २०४८ सालदेखि यता एकपटक मात्र नेपाली कांग्रेसले जितेको चितवन क्षेत्र नं १ मा लगातार एमालेले जितेको थियो । चितवन १ लाई एमालेले कालकिल्ला भन्दै आएको थियो, तर यसपटक चितवन १ मा एमालेको लालकिल्ला घन्टीले भत्काइदियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल यहाँ निर्वाचित भए । साझा गठबन्धनबाट नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेल उम्मेदवार बनेका थिए, उनलाई पनि ढकालले चिप्लाइदिए । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आएर विश्वनाथ विद्वान मान्छे हो, जिताइदिनुहोला भनेका थिए, तर योजना आयोगका उपाध्यक्षसमेत भएका पौडेल पनि यस क्षेत्रमा पराजित भए । ढकालले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका सुरेन्द्र पाण्डेलाई ७ हजार ५८१ मतले हराए । ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६००८ मत पाए । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९०९ मत पाए । यस क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । यस क्षेत्रको प्रदेशमा कांग्रेस शून्य छ ।

प्रदेशमा नेकपा एमालेले एक सिट र एकीकृत समाजवादीले एक सिट जितेको छ । चितवन १ को प्रदेश १ मा एमालेका जगन्नाथ थपलिया र २ मा नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं बागमती प्रदेशका मन्त्री कृष्णप्रसाद खनालले चुनाव जिते । एक मतदाताका अनुसार यस क्षेत्रबाट नेकपा एमालेका सुरेन्द्र पाण्डेले दुई पटक चुनाव जिते पनि केही गर्न सकेनन् भन्ने मतदातामा परेको थियो, यद्यपि कामहरू भएका हुन् । मतदाताले यसपटक पुरानो अनुहार होइन, नयाँ अनुहार खोजे । अनि चितवनमा घण्टीको एउटा ह्विम चलेको थियो । पुराना दलले केही गर्न सक्दैनन् भन्ने मान्यता मतदातामा विकास भयो, जसले गर्दा कांग्रेस र एमाले यस क्षेत्रमा बढारिए ।

चितवन क्षेत्र नं २ मा कांग्रेस र एमालेका उम्मेदवार पराजित भएका छन् । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए । फराकिलो मतान्तरले लामिछानेले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरे । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ। लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका छन्। चितवन २ मा दुई पटक एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए, यसपटक घन्टीका कारण उनी पछारिए ।

यस्तै दुई पटक समानुपातिकबाट सांसद भएका उमेश श्रेष्ठ पनि पराजित भए । राजनीतिक विश्लेषक कृष्णप्रसाद पौडेलका अनुसार चितवनमा बाहिरी जिल्लाबाट आएर बसोबास गरेका मतदाता बढी छ, चितवनका मतदाताले यसपटक नयाँ अनुहार खोजेका थिए, कसैले गर्छजस्तो लाग्यो भने चितवनका मतदाता त्यतैतर्फ ढल्कन्छन्, यसको विकल्प अहिले घन्टी भयो । उनले भने, ‘पुराना राजनीतिक दलप्रति जनतामा वितृष्णा बढेको छ, यिनीहरुबाट देश बन्न सक्दैन भन्ने जनतामा लागेका कारण नयाँ विकल्प खोजेका हुन् ।’ चितवन २ प्रदेशतर्फ भने नेकपा एमाले र कांग्रेसले एक/एक सिट जितेका छन् । चितवन २ को १ मा एमालेको कृष्ण सिलवाल र चितवन २ को २ मा नेपाली कांग्रेसका उत्तम जोशी निर्वाचित भए ।

चितवन ३ को चुनावी परिणाम आइसकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोडेको क्षेत्र हो यो । यस क्षेत्रमा कांग्रेस र एमालेका उम्मेदवार नै छैनन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी उठेका छन् । उनी राप्रपाका उम्मेदवार विक्रम पाण्डेभन्दा तल छन् । यहाँ राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले जित्ने सम्भावना बढेर गएको छ । चुनावी अन्तिम नतिजा आउन बाँकी छ । पछिल्लो मत परिणामअनुसार राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले २५ हजार ६५२ मत ल्याएका छन् ।

गठबन्धनका डा भोजराज अधिकारीले १७ हजार ३०६ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १३ हजार १४ र स्वतन्त्र उम्मेदवार बनेका दिनेश कोइराला ९ हजार ९७ मत ल्याएका छन् । यहाँ राप्रपाका पाण्डे निर्वाचित हुने सम्भावना बढिरहेको छ । क्षेत्र नं ३ को प्रदेश १ मा राप्रपाका गिरबहादुर तामाङले चुनाव जितिसकेका छन् प्रदेश २ को परिणाम आउन बाँकी नै छ । २०५६ सालदेखि यस क्षेत्रबाट चुनाव लड्दै आएका पाण्डे यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए । चितवनको तीन वटा क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रलाई ठुलो धक्का लागेको छ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले जित्दै गर्दा कांग्रेस, एमाले र माओवादी अहिलेको चुनावमा बढारिएका छन् । राजनीतिक विश्लेषक पौडेल भन्छन्, ‘यो ठूला पार्टी र तिनका उम्मेदवारप्रति जनताको वितृष्णा नै हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *